म बर्बरिक बनाइएको छु — डिल्लीराज अर्याल

मुख्य समाचार विचार

एउटा समय थियो मान्छेहरू पञ्चायती व्यवस्थाको समर्थन र विरोधमा विभाजित जस्ता थिए । देखाइमा खासै त्यस्तो थिएन तर भावनामा त्यस्तै भएको महसुस हुन्थ्यो । जानेर नजानेर, बुझेर नबुझेर जसरी भए पनि मान्छेहरू पञ्चायतको विरोध पनि गर्थे र समर्थन पनि। समर्थन गर्नेको सङ्ख्या सानो थिएन र विरोधमा लाग्नेको सङ्ख्या पनि ।

वि.सं. २०३६ जेठमा जनमत सङ्ग्रहको घोषणा भयो सुधारिएको पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थामध्ये एउटालाई रोज्न पाउने गरी । मान्छेहरूलाई के-के न पाए जस्तो भयो। नेताहरू त दङ्ग परे र प्रचार प्रसारमा लागे। आम सभाहरू भए । तोकिएको समयमा जनमत सङ्ग्रह भयो । जित्न त पञ्चायती व्यवस्थाको पक्षल नै जित्यो तर मत सङ्ख्याको आधार हेर्दा त्यत्ति अन्तर देखिएन, भएन ।

फेरि पनि उही व्यवस्था रह्यो । केही दिन अलि फरक जस्तो पनि भयो तर फेरि उस्तै । संस्कृत पढाउने गुरुहरूले व्याकरण पढाउँदा ‘ज्ञानम् ज्ञाने ज्ञानानि’ फेरि पनि उस्तै जस्ताको तस्तै ‘ज्ञानम् ज्ञाने ज्ञानानि’ भने जस्तै भयो। बहुदलवादीहरूले खोजे जस्तो भएन । चुनावमा अनुमोदित नभएको देखिएपछि त्यसको पक्षमा, त्यसको अनुकूलमा नहुनु स्वाभाविकै थियो र भएन पनि ।

दश वर्षपछि फेरि एउटा हल्ला चल्यो । आन्दोलन भयो र बहुदलीय व्यवस्थाको घोषणासहित पञ्चायती व्यवस्थालाई खारेज गरियो । नयाँ अन्तरिम सरकार बन्यो । नयाँ संविधान बन्यो । फेरि चुनाव भयो र जननिर्वाचित सरकार बन्यो ।

बहुदलीय व्यवस्था अनुसारका नीति नियम बन्दै गए । चुनाव हुँदै गए, नयाँ सरकार पनि बन्दै गए । जे-जे बने पनि जनताको अवस्थामा सुधार र राज्य व्यवस्था जनताको अनुकूल भएको अनुभव गर्नेहरूको सङ्ख्या उस्तै भयो, उस्तै रह्यो । नयाँ प्रधानमन्त्री बने, नयाँ मन्त्री बने तर देश नयाँ बनेन । अवस्था नयाँ बनेन, पुरानोको तुलना गर्न पनि सकेन भन्नेहरू बढ्दै गए । द्वन्द्वको स्थिति बन्यो र जनयुद्धको नाममा अर्को एउटा आन्दोलन चल्यो ।

वि.सं. २०५२ देखि सुरु भएको त्यो आन्दोलन पनि दश वर्षकै हाराहारीसम्म चल्यो। प्रारम्भमा त्यसका गतिविधि सकारात्मकै देखिए पनि पछिल्ला चरणमा एकदमै नकारात्मक गतिविधि पनि चलेको अनुभूति भयो। कैयौं निर्दोष विद्यार्थी,शिक्षक, बालबालिका, महिला, प्रहरी, कर्मचारीसमेत त्यसमा प्रभावित भए। घाइते भए, अपहरित भए कैयौं त मारिए पनि।

वि.सं. २०६३ तिर सम्झौता भयो, नयाँ तरिकाले लैजाने सहमति पनि भयो र त्यसै अनुसारको सरकार, सदन, ऐन नियम र सम्विधान पनि बन्यो। चुनाव भयो। सरकार बन्यो । राजसंस्था विनाको बन्यो देश। गणतन्त्र ल्यइयो र आयो तर यी सबै कुरामा आम जनताको सहमति खोजिएन। गणतन्त्र, धर्म निरपेक्षता जस्ता कुरामा जनमत बुझ्नुपर्छ भन्ने मत हुँदाहुँदै पनि बुझिएन। सम्विधान बन्ने वेलामा दिइएका रायलाई वास्ता गरिएन भन्ने आवाज पनि उठ्यो तर सत्तासीनहरूले नसुनेरै अघि बढ्ने प्रयास गरे। धेरैको मनमा यो आवाज, यो भाव रहिरह्यो।

पञ्चायती व्यवस्था गएको करीब तीस वर्ष हुन लागेछ। राजतन्त्र गएर गणतन्त्र आएको पनि बाह्र वर्ष नाघेछ। यो अवधिमा धेरै नेता सत्तामा गए। धेरै सरकार बने। धेरै दल सरकारमा गए। आफूलाई जनताका अगुवा भन्नेहरूले, जनताका नेता भनिनेहरूले, महामानव भनिनेहरूले विकास गरेका गर्यै छन् तर त्यो विकासले कसैलाई छोएको छैन। कसैलाई चित्त बुझेको छैन तर नेताहरू अझै विकासकै भाषण गर्दैछन्, विकासकै कार्यक्रम ल्याउँदैछन् ! विकासकै लागि भोट माग्दैछन् ।

म भने विकास देख्न, चिन्न नसकेर ट्वाल्ल परेको छु। तिनले दिने विकासको स्वरूप हेर्न, जान्न खोजेको, चाहेको छु त्यसकै सपना देखेको छु तर अहँ पूरा हुने लक्षण देखेको छैन। अहिलेसम्मका हरेक सरकारका गतिविधि नियाल्दै आएका जनता पनि सपना पूरा हुने कुरामा विश्वस्त छैनन् र तिनका गतिविधिमा सन्तुष्ट छैनन्।

हो मेरो सपना, हाम्रो सपना आजसम्म पूरा भएको छैन र अब पनि पूरा होला जस्तो लक्षण देखिएको छैन। मेरो, हाम्रो सपना सपनै मात्र बनिरह्यो। हामी जनताको सपना सपनै मात्र बनिरह्यो र नेताहरूले सपना मात्र देखाइरहे । अझ पनि देखाइरहेछन् । क्रान्ति गर्न छोडेका छैनन्। विकास गर्न छोडेका छैनन्, भन्न छोडेका छैनन् । हिजो पनि देखाइरहे, आज पनि देखाइरहेछन् र भोलि पनि देखाउने नै छन् । लाग्छ- विकास र त्यसको सपना सधै देखाउने चीज रहेछ !

अहिले लाग्छ हामी सबै महाभारतमा सामेल भएछौं। जसले जिते पनि जित्ने र हार्ने अर्कै युद्धमा मर्ने मात्र हामी। जसको कतै कुनै गन्ती छैन, हुँदैन। हो यो महाभारतले भीष्म, द्रोण, कर्ण, द्रुपद, विराट आदिलाई मार्न सक्छ, मारेको छ तर प्राप्ति भने युधिष्ठर र दुर्योधनमा मात्र केन्द्रित छ। नियम तिनै बनाउँछन्, तिनैले मिच्छन् । तिनकै स्वार्थमा हामी हुलका हुल मान्छे लडिरहेछौं, घाइते भइरहेछौं र सबै कुरा गुमाएर मरिरहेछौं। हाम्रा लालाबाला टुहुरा बनिरहेछन्। द्वापर देखि अहिलेसम्म चलेको यो महाभारतमा हामी फसेका छौं। यो कसले चाहेर भएको हो, लड्ने लडाउने कसैलाई थाहा छैन। कसको हितमा भइरहेछ भन्ने पनि थाहा छैन तर लडाइँमा सामेल भएर वीरता प्रस्तुत गरिरहेछौं।

यस्तो लडाइँ लड्नु भन्दा त बर्बरीक बनेर बस्नुको मजा बेग्लै हुन्थ्यो कि! बन्न त पाइएन तर पनि उस्तै अवस्थाबाट गुज्तनु परेको छ। हो, मेरो पनि टाउको त जीवित छ, आँखाले त देख्छ तर अरू अङ्ग क्रियाशील छैन। निरर्थक साबित भएका छन्। प्रतिकृया, प्रतिकार विनाका बनेका छन्। लाग्छ म जीवित छु कि छैन भन्ने पनि मलाई थाहा छैन। हो, म बर्बरीक बनाइएको छु। मेरो आफ्नो भन्नु त्यही युद्ध हेर्ने दृष्टि बाहेक केही छैन।