रत्यौली गीतको सौन्दर्य — गायत्री पराजुली

मुख्य समाचार विचार विषेश समाचार

लोकजीवनमा परापूर्व कालदेखि नै प्रचलनमा आएका जनमानसका हृदयस्पर्शी अभिव्यक्तिलाई लोकसाहित्य भनिन्छ । लोकसाहित्यमा लोकको चिन्तनमय अनुभव र अनुभूति मौखिक रूपमा प्रचलित भई एकपुस्ताबाट अर्काेपुस्तामा सर्दै जाने हुनाले यसका रचनाकार अज्ञात हुन्छन् ।

लोकसाहित्य भन्ने बित्तिकै ग्रामीण, असभ्य, अशिष्ट, अलिखित र परम्परित मौखिक साहित्य हो भन्ने अर्थमा केही विद्वान्हरूले सहमति जनाउँछन् भने यस भनाइमा असहमति जनाउने विद्वान्हरू पनि पाइन्छन् । गाउँ वा सहर जहाँसुकै रहेको भए पनि शास्त्रीय जटिलतामा नजेलिएको आदिम मानवयुक्त सरल र सामान्य मान्छे नै ‘लोक हो’ (गिरी, २०५७ : १९) र सम्पूर्ण जनजीवनमा भोग गरेका, आर्जेका, लोकबाट प्रचलनमा आएका, लोककोे लागि, लोकको सुख–दुःखलाई लिएर भावनामा मौलाएको वा फुरेको साहित्य नै लोकसाहित्य हो ।

लोकसाहित्य अन्तर्गत पर्ने विविध विधामध्ये लोकगीत एक उर्वर विधा हो । ‘लोक’ र ‘गीत’ शब्दको योग भएर बनेको अथवा लोकसमाजमा प्रचलित गीत नै लोकगीत हो । लोकगीतमा लोकजीवनका सुख–दुःख, आँसु,–हाँसो, आशा–निराशाका साथै लोकको चालचलन, विधि–व्यवहार, आस्था र मान्यताहरूको चित्र प्रस्तुत गरिएको हुन्छ । यसमा वन, पाखा, लेकबेसी, उकाली, ओराली, हर्ष–वेदना, प्रेम–करुणा तथा जीवनका आरोह–अवरोहको सबै अभिव्यक्ति झल्केको हुन्छ । लोकगीतले लोकसँग गाँसिएको असीमित क्षेत्र ओगटेको पाइन्छ । यसमा सरलता, माधुर्य, कोमलता आदि भाव झल्केको पाइन्छ । यस्ता भाव, भाषा र प्रस्तुति आदिका दृष्टिले लोकगीतका विविध प्रकार भेटिन्छन् । यी विविध प्रकारका लोकगीतलाई विद्वान्हरूले आआफ्नै किसिमले परिभाषित गरेको पाइन्छ ।
चोखो लय र शब्दको प्रभावबाट उठी जनजीवनलाई प्रभाव पार्न सक्षम भएको छ –लोकगीत । यसैले मानव सिर्जनाको पहिलो प्रस्फुरण लोकगीत नै हो (थापा, २०३०ःख) । लोकगीत भनेको लोकजीवनको रागात्मक स्वतःस्फूर्त लयात्मक अभिव्यक्ति हो । यसमा लोकजीवनका दुःखसुख, आँसु–हाँसो, आशा–निराशाका साथै लोकका चालचलन, विधि व्यवहार, आस्था र मान्यताहरूको चित्रण हुन्छ (बन्धु, २०५८ः११५) । लोकगीतलाई चिनाउनका लागि विभिन्न विद्वान्हरूले परिभाषित गरी आ–आफ्नै किसिमले अध्ययन विश्लेषण र वर्गीकरण त धेरैले गरेको पनि पाइन्छ तापनि सर्वसम्मत वा वैज्ञानिक वर्गीकरण कसैले गर्न सकेका छैनन् (न्यौपाने, २०६६ः१२२) । यस्तो स्थिति देखिए तापनि नेपाली लोकगीतको वर्गीकरण गर्नु सान्दर्भिक देखेर नै विभिन्न विद्वान्हरूका अध्ययन र अनुसन्धानबाट समग्रमा लोकगीतलाई सामान्य गीत, संस्कार गीत, पर्व गीत, श्रम गीत, नृत्य गीत, व्रत सम्बन्धी गीत तथा अन्य विविध गीत गरी वर्गीकरण गरेको पाइन्छ । यही लोकगीतको वर्गीकरण अनुसार विभिन्न प्रकारका गीतहरूमध्ये रत्यौली गीत एक विशेष प्रकारको संस्कार गीत हो ।

[अनुसन्धानमूलक लेख]

संस्कार गीत भनेको कुनै पनि संस्कारिक कार्य गर्दा गाइने गीत हो । संस्कार गीतमा विभिन्न जातजाति, भाषाभाषीका विशेषता र उपादेयतालाई अङ्गीकार गर्दै उनीहरूका रीतिस्थिति, चालचलन, व्यवहार, आस्था–अनास्था आदि सन्दर्भमा देखिएका जीवनपद्धतिलाई दर्साउने काम गरिन्छ । कुनै देश वा समाजको यथार्थ लोकजीवनको जानकारी यसले सविस्तार उपलब्ध गराउँछ (शर्मा र लुइटेल, २०६४ः२०) । यसरी जन्मदेखि मृत्युसम्मका बिचमा गरिने विभिन्न संस्कार वा रीतिहरूमा गाइने लोकगीत नै संस्कार गीत हुन् । नेपालमा गाइने संस्कार गीतमध्ये विवाह जस्तो शुभकार्यमा गाइने रत्यौली पनि एक संस्कार गीत नै हो । रत्यौली विवाहमूहर्तको अवसरमा महिलाहरूद्वारा गाइने गीत हो । रत्यौली रातभर गाइने गीत भन्ने बुझिए पनि आजभोलि दिउँसोको विवाहमूहर्तमा दिउँसै पनि गाउन थालिएको छ । विवाहका अवसरमा दुलाहाका घरमा बालिएको बत्ती कुर्न भनी जम्मा भएका महिलाहरूले गाउने सामूहिक गीत रत्यौली हो । रत्यौली शब्दको व्युत्पत्ति फरक फरक ढङ्गले गरेको पाइन्छ । जस्तै कतै रात+यौली=रत्यौली, कतै रात+एली=रतेली अनि कतै राती+एली=रतेली । रातमा गाइने भएर रत्यौली भनिने मात्र नभई रतिक्रिडाका भाव प्रस्तुत गर्दै गाइने भएकाले ‘रतेली’ भएको हो भन्ने तर्क गर्नेहरू पनि पाइन्छन् । यो गीत भगवान् कृष्णको रति लीलाका क्रममा गाइने गीतबाटै जन्म भएको हो भन्ने पनि छन् (पराजुली, २०५७ः२६२) ।

दुलाहाका घरबाट जन्ती हिँडेपछि दुलाहाको कोठाको भित्तामा ज्यूँती लेख्ने चलन भएको र त्यही ज्यूँती लेख्दा गाइने भएकाले कुनै ठाउँमा रत्यौलीलाई ज्यूँती गीत पनि भन्ने गरिन्छ । दुलाहाका घरतिरका सबै लोग्ने मान्छेहरू (जन्ती) डोली अन्माएर दुलहीका घर लागेपछि दुलहाको घर सुनसान नहोस्, बुहारी राम्रो परोस्, सुख, शान्ति होस्, यात्रा सफल होस भन्ने कामना गर्दै रत्यौली गाउन सुरु गरिन्छ र जन्ती फर्केर आइनपुगेसम्म गाइन्छ । लोग्ने मान्छेहरू सबै जन्त जाने र टोल छिमेकमा एउटै पुरुष नरहेको अवस्थामा महिलालाई ज्यादै स्वतन्त्र भई निर्धक्क ढङ्गले गाइने यस गीतमा कतै हाँसो, कतै छेडछाड, कतै व्यङ्ग्य, कतै अश्लीलता आदि भेटिन्छ ।

रत्यौलीको प्रारम्भिक इतिहास स्पष्ट नभए पनि प्रचलन धेरै पुरानो हो (पराजुली २०५७ः२६१) रत्यौलीमा महिलाहरू पुरुषका लुगा लगाएर, जुँगा बनाएर महिलासँग पुरुषले गर्ने क्रियाकलापको अनुकरण गरेर नाच्छन् । यस्तो अभिनयका साथ नृत्य गर्ने, मजाक गर्नेलाई ‘लुठो’ भन्दछन् । यस गीतमा दुलाहा र दुलहीका बखानसँगै दुलाहाका आमाबाबु, दिदीबहिनीहरूको स्वभाव, चरित्र चित्रण, ख्याल–ठट्टा गरी रमाउने चलन छ । रत्यौलीमा श्लील र अश्लील दुबै प्रकारका गीत गाइन्छन् । समाजले बनाएको लोक प्रचलन अनुसार पुरुषले रत्यौली हेर्न त परै जाओस् सुन्न पनि हुँदैन किनभने हेरे वा सुनेमा आयु घट्छ र महिलाहरू एकत्रित भई रत्यौली गाउने र नाच्ने गरेमा नयाँ दम्पत्तिको आयु बढ्छ भन्ने लोकविश्वास पनि पाइन्छ । जन्ती जानुपूर्व ग्रहशान्ति गर्दा बालेको दियो (बत्ती) दुलही नभित्र्याएसम्म निभ्न हुँदैन, निभ्यो भने नवदम्पत्तिको जीवनमा अपशकुन पर्दछ भन्ने लोक प्रचलन छ (न्यौपाने, २०६६, ३३४) । यो गीत गाउँदा हा, बाँदुरे, अरे मैया, होइ, ओहोइ, हे, हो लगायतका थेगोको प्रयोग गरिन्छ ।

रत्यौलीमा महिलाहरू आफ्ना रतिरागात्मक भावना र मनका उकुसमुकुसलाई पनि गीतका माध्यमद्वारा अभिव्यक्त गरी आनन्दित बन्न पुग्छन् । सांस्कृतिक सन्दर्भ, सामाजिक विषयवस्तु, श्रृङ्गार तथा हास्य भावको प्रधानता, लोकभाषाको बहुलता, स्थायी, अन्तरा र थेगोको प्रयोग, वर्णनात्मक शैलीको बहुलता, द्रुत लयमा मनोरञ्जन गर्ने उद्देश्यले गाइनु, विवाहका अवसरमा महिलाहरूले सामूहिक रूपमा गाउनु, पुनरावृत्तिका कारण लामो संरचना हुनु आदि रत्यौली गीतका विशेषता हुन् ।

२. भाव
महिलाहरूलाई नाच्ने गाउने अवसर नमिल्ने भएकाले रत्यौली भनेपछि प्रायः महिलाहरू हुरुक्क भएर सबै काम छोडेर रत्यौलीमा सहभागी हुन आउने गरेको पाइन्छ । रत्यौली रातमा गाइए पनि दिनमा गाइए पनि यसमा महिलाहरूले आफ्ना मनमा उकुस–मुकुस भएका वा व्यक्त गर्न नपाएका भावनाहरूलाई स्वतन्त्र रूपमा प्रस्तुत गर्न पाउने भएकाले मन हल्का भएको महसुस पनि गर्दछन् । रत्यौलीले मनोरञ्जन, शिक्षा, अर्ती, उपदेश आदिका साथसाथै अनेक अनुभूति प्रस्तुत गरेको पाइन्छ । यसरी महिलाहरूले स्वतन्त्रतापूर्वक गाउने रत्यौली गीतको पनि अध्ययन र अनुसन्धान गर्ने हो भने यसमा लोकजीवनमा भोग्नु परेका दुःख, सुख, पिर, मर्का, हर्ष–विस्मात, वेदना, शङ्का–उपशङ्का जस्ता मनोभावना व्यक्त भएको पाइन्छ । साथै रत्यौलीमा बाआमा, सासूससुरा, छोराछोरी, बुहारी, दिदीबहिनी, सम्धीसम्धिनी जस्ता समाजमा रहने सबै प्रकारका नाता कुटुम्ब पक्षका मर्म, आस्था, मान्यता, घोचपेच, डरत्रास, कटुता जस्ता विविध भाव झल्काउने अभिव्यक्तिहरू पाइन्छन्, जुन निम्नानुसार छन् :

२.१. दिदीबहिनीका गुनासा
हिन्दु धर्मालम्बी ब्राह्मणक्षेत्रीका समाजमा पुरुषहरू मात्र जन्त जाने चलन भएकाले दिदीबहिनीहरू दाजुभाइको विवाहमा जन्त जान नपाएका अथवा जन्त जाने रहर भएको गुनासो पोख्दै यसरी गीत गाउँछन् :
दाइ गयो म जान पाइन ।
फूल भरेको पुतली रेलैमा ।।
यसै गरी आफ्नो बिहे नभइन्जेल त माइतीघर नै आफ्नै घर सम्झने दिदीबहिनीले जब आफ्नो बिहे भई घर जान्छन् तब यता दाइभाइको पनि बिहे भएर भाउजू वा बुहारी भित्रिएपछि माइतीघर आउँदा अलि निकटता नपाएको महसुस गरी यसरी गाउँछन् :
माइती घर के छ र मेरो ।
खाइयो पानी बिर्सियो पँधेरो ।।
यस्तै आफ्ना बा आमाको माया लागेर अथवा बा आमाले दुःख पाउँछन् कि भन्ने सोचकोे पनि गाउँछन् :
दिदीबहिनी दुई दिनका पाउना ।
राम्रोसँग पाले है बाआमा
पहिला पहिला हाम्रो समाजमा छोरालाई मात्र पढ्न पठाउने, छोरीले पढ्न हुँदैन भन्ने प्रचलन अनुसार आफूले अथवा दिदीबहिनीले पढ्न नपाएर दुःख पाएको दर्साउँदै यसरी पनि गाउँछन् :
दाइ लाहुरे भाइ कलम सिउरेको ।
मेरै रैछ करिम बिउरेको ।।

२.२.आमाको माया
खेतीपाती अरूको राम्रो, छोराछोरी आफ्ना राम्रा भन्ने भनाइ जस्तै आमाले आफ्नो छोरो अति ज्ञानी, गुणी, सज्जन छ भन्दै बखान गरेर गीत गाइन्छ :
मेरो बाबु गएको ठाउँमा ।
बत्ती बाल्न पर्दैन त्यो गाउँमा ।।
यसै गरी आफ्नो छोरा बाहिर कतै गएको, घरमा नभएको बेलामा छोराको मायाले भित्र पस्न मन नलाएर आमाले छोरालाई सम्झदै गीत गाउँछन् :
बाबु तिमी हिँडेको बेलामा ।
सम्झी बस्छु दैलाको ठेलामा ।।

२.३. आमाको शङ्का
बिहे नगरिन्जेल आफ्नो छोरा ज्ञानी, आज्ञाकारी भनेको मान्ने थियो भने बिहे गरेर बुहारी भित्र्याएपछि छोरो टाढा हुन्छ कि, आफूले भनेको मान्दैन कि भन्ने शङ्का–उपशङ्काले आमाको मन पिरोलिऐको गीत पनि गाइन्छ :
आज त रमाइलो हुन्छ ।
छोरो टाढा हुँदा पो मन रुन्छ ।।
यसै गरी पहिला जन्मेको सन्तान अथवा जेठो छोरो सबैभन्दा प्यारो हुने भएकाले आमाले पनि जेठो छोरालाई अति माया गरी पालेको र छोराले पनि आमालाई त्यत्तिकै सम्मान गर्ने थियो भने अब बुहारी ल्याएपछि छोराले आमाको माया मान्दैन कि भन्ने शङ्कालु गीत गाइन्छ :
जेठो छोरो मायाको डोरो ।
बुहारीले बनाउली एकोहोरो ।।

२.४ आमाका सुख व्यङ्ग्य
छोराको विवाह गरेर बुहारी भित्र्याएपछि अब घरमा सबै काम बुहारीले गर्छे, आमालाई सुख कटाउँदै स्याहारसुसार गर्छे भन्ने व्यङ्ख्य हानेर रत्यौली गाइन्छ :
भरे त बुहारी आउँछे ।
सासूलाई बोकेर डुलाउँछे ।।

२.५ आमाका दुःख–व्यङ्ग्य
समाजमा दाइजो प्रथा जारी नै रहेकाले दुलही अथवा बुहारीका तर्फबाट केही दाइजो ल्याउने चलन छ । यसरी नै बिहेको दिनमा अथवा अरू कुनै पर्व पारेर केटाका बाबुआमा र केटीका बाबुआमाको भेट गराउने, ढोगभेट फुकाउने अथवा सम्धीसम्धेलो गर्ने चलन पनि रहेको पाइन्छ । त्यही सम्धीसम्धेलो गर्दा केटीकी आमाले केटाकी आमालाई छड्के तिलहरी लगाइदिने चलन आजकल चलेको पनि पाइन्छ । यसरी केही दाइजो र छड्के तिलहरी ल्याएकी बुहारी ठुली पल्टने अथवा मेरा बाआमाले टन्न दाइजो दिएका छन्, मैले घरमा काम गर्नुपर्दैन भन्ने भावना बढ्ने भएकाले सासूले नै बुहारीको सुसार गर्नुपर्ने स्थितिको रत्यौली गाइन्छ :
आयो आयो छड्केको पालो ।
त्यही छड्केले बनायो गोठालो ।।

२.६ आमाको वेदना
आमाले छोरालाई जन्म दिएर, दुःख कष्टसँग पालेर, मायाममतासँग हुर्काएकी हुन्छिन् । विवाह नहुन्जेल त्यो छोरा ज्ञानी, गुणी र आमाले भनेको मान्ने आज्ञाकारी हुन्छ भने जब छोराको विवाह भएर बुहारी भित्र्याउँछिन् तब छोरो बुहारीका कुरा मात्र मान्ने, आमासँग झर्कनेफर्कने गर्ने व्यवहार देखाउँदै जान्छन् । त्यसबेला आमाको मन दुःखेको भावमा यस्तो रत्यौली गाइन्छ :
छोरा मैले पाएको खासगरी ।
बुहारीले राजीनाम पास गरी ।।

२.७ आमाको सन्देह
आफ्नो छोरो बिहे गरेर बुहारी भित्र्याएपछि केही बानी, व्यवहारमा परितर्वन भएको देखेर आमा छोरासँग अलि डराएर वा अनुमति लिएर काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै रत्यौली गाइन्छ :
बाबु तिम्ले ल्याएको झोला ।
मैले खोल्न होला कि नहोला ।।

२.८ आमाको वाध्यता
आमाले अब आफ्नो छोराको उमेर पुगेर बिहे गर्ने बेला भएको अवस्थामा समाजमा देखिएको र सुनिएको कुरा सम्झँदै मन गरुङ्गो पार्छिन् । छोराको बिहे गरेपछि छोराले आमाप्रति गर्ने व्यवहार नै फेरिने डर पनि पालेकी हुन्छिन् । फेरि छोराको बिहे नगरेर पनि भएन भन्ने जस्ता भावको रत्यौली गाइन्छ :
बुहारी नल्याई नि भाछैन ।
काखको छोरा खोसियो थाछैन ।।
यस्तै छोराको बिहे गर्न लागेकी आमालाई अरू गाउँलेहरूले उक्साउँदै कुरा गर्छन् । अब त बुहारी आउँछे, तिमीलाई सुख कटाउँछे, परेको बेलामा बोकेर पनि हिँड्छे भन्ने त्यस्ता कुराहरू गर्दै हाँसो गर्छन् । तर आमालाई त्यस्तो आशा त हुँदैन कि हेला गर्ने, रुखो वचन लगाउँछे कि भन्ने डर लागेको भाव पनि पाइन्छ :
बोकेर डुलाउने को थियो ।
रुखा वचन नलाए हुन्थियो ।।
जब बिहे गरेर बुहारी भित्र्याउँछन् । दिन दिन छोराको व्यवहारमा परिवर्तन पाउँछिन् आमाले । आमाले बुहारीको असल व्यवहार त परै जाओस् छोरा पनि आमादेखि झर्कने–फर्कने गर्न सुरु गरिसक्यो । पहिला आत्मीय भाव देखाउने छोराले अहिले आमालाई को होस् र? भन्ने जस्तो व्यवहार देखाउन थाल्यो । यसरी आमालाई छोराले हेला गरेर आफ्नोपनको महसुस नगरेको भावमा पनि रत्यौली गाइन्छ :
छोरो पनि भैसक्यो पराइ ।
बुहारीले के गराई के गराई ।।
आफ्नो त्यस्तो ज्ञानी छोरा बिहे गरेपछि आफूलाई अति हेला गरेकाले आमाको मन अति नै दुख्छ । छोराको बिहे गरौँला, हाँसी–खुसी बसौंला भन्ने जुन चाहना थियो । त्यसको ठिक उल्टो व्यवहार पाएपछि आमाको मन अति रुन्छ । के गर्नु दुनियाँ यस्तै होला, आफ्नो कर्म नै यस्तै होला भन्ने सम्झँदै फेरि आफ्नो मन आफैंले बुझाउन खोज्छु तैपनि सक्दै सक्दिन भन्ने भावको पनि रत्यौली गाइन्छ :
भन्छु मैले अब त रुन्न ।
आँसु धारा बगेको थाहा हुन्न ।।

२.९ छोराको दृष्टि
विवाहपूर्व आमाछोरामा अति माया ममता हुने छोराले सामान किनेर ल्याई आमालाई नै दिने, आमा छोरा दुबै सर–सल्लाह अनुसार चल्ने हुन्थ्यो भने विवाहपछि तिनै आमाछोराका मायाममतामा अलि दूरी बढेको महसुस भएर छोराले कतैबाट केही लिएर आए पनि आमा अलि हच्किएर छोरासँग अनुमति माग्छिन् । छोराले भने आमालाई मतलब नगरी यसरी वचन लगाएको गीत पनि गाइन्छ :
यो झोला त कान्छीलाई दिने हो ।
आमालाई त दुई किलो चिनी हो ।।
यसरी झोला नछुनु, झोला आफ्नै श्रीमतीले लिन्छे, तपाईलाई होइन भन्दै तपाईलाई त चिनी ल्याइदिएको छु, त्यही दिन्छु । नत्र झोला हेर्नुभयो, खोल्नुभयो भने राम्रो हुनेछैन भन्ने रुखो वचन लाउँदै यसरी गाइन्छ :
आमा तिम्ले नछुनु झोला ।
झोला छोए देउघाटको बास होला ।।
यसै गरी छोराले आमालाई बुहारीलाई केही नभन्नू, उसले जे गर्छे ठिक गर्छे, केही कचकच नगर्नू, चुप लागेर बस्नुस् भन्ने भावको रत्यौली गाइन्छ :
आमा तिमी नबोली सहे ।
बुहारीको काम खानी भए ।।

२.१० बेहुलाको सान
विवाह गर्न गएको बेहुलाले बेहुली लिएर आई भित्र्याउन लाग्दा अथवा घरभित्र पस्ने बेलामा वरिपरि घेरिएर बसेका इष्टमित्र, परपाहुना सबैलाई बाटो छोड, अब मलाई तिमीहरू कोही चाहिँदैनौँ, मैले मेरो जीवन सँगिनी लिएर आएको छु भन्ने बेहुलाको सान झल्किने भावका गीत पनि रत्यौलीमा गाइन्छ :
बाटो छोड दायाँ र बायाँ ।
जीवन साथी लिएर म आयाँ ।।
यसै गरी राम्री, असल, आफूले मन पराएकी बेहुली बिहे गरेर ल्याउन पाएकाले बेहुला खुसी हुनुका साथै अब आफूलाई भरिपूर्ण भएको अथवा बेहुली पाएपछि कोही चाहिँदैन अथवा बाआमाको पनि खाँचो छैन भन्ने भावमा पनि रत्यौली गाइन्छ ः
मन परेकी मायालु पाइयो ।
अब मलाई बाउआमा के चाहियो ।।

२.११ बेहुलालाई व्यङ्ग्य
विवाह नभइन्जेल त बाबुआमाको प्यारो छोरा भएर मायाले पालिएको, स्वतन्त्रसँग हिँडेको, खाए खेलेको मान्छे अब विवाह भएपछि वा श्रीमती ल्याएपछि श्रीमतीको अधीनमा बस्नुपर्ने, कचकच सुन्नुपर्ने र जिम्मेवारी पनि बढ्ने रत्यौली गीत गाइन्छ :
डटेर हिँडेको बाबु ।
बल्ल पर्यो माकुरी जालैमा ।।

२.१२ बेहुलीलाई अर्ती
विवाह भएर आएकी बेहुलीलाई माइतीघर छोडेर आउनु पर्दा नरमाइलो लाग्यो होला, अर्काको घरमा जाँदा गाह्रोसाह्रो हुन्छ भन्ने सोचिन् होला तर त्यस्तो पिर गर्नुपर्दैन । तिम्री सासूआमा पनि तिम्री आमा जस्तै जाती छन् भनेर बेहुलीको मन बुझाउने रत्यौली पनि गाइन्छ :
नरोऊ नानी नझार आँसु ।
आमा जस्तै घरैमा छन् सासू ।।
सासू असल छन्, तिमीलाई काम गर्न पनि सिकाउँछिन् । तिमीले पनि घरमा आएपछि सबैले भनेको मान्नू, सासूले अह्राएको काम गर्नू, बोलीवचन राम्रो गर्नू, नमात्तिनू भन्ने भावमा पनि गाइन्छ :
यै हो नानी जुग जानी घर ।
राम्रो गर सबैको मन पर ।।
यस्तै पोखरा जस्तो सुन्दर सहरमा बिहे गरेर आउन पायौं राम्रो घर परिवार छन्, तिमीले सुख पाउँछ्यौ, तिमी भाग्यमानी रहिछौ भन्ने भावमा पनि रत्यौली गाइन्छ :
स्याङ्जामा हुर्केकी चरी ।
पोखरामा बेग हान्यौ कसरी ।।

२.१३ सासूको वेदना
छोरी मान्छे जन्मेर माइती घरमा हुर्किन्छे । बाआमाको मायाममता पाउँछे । दाजुभाइको सद्भाव मिल्छ र ठुली भएपछि फेरि विवाह गरेर श्रीमान्को घर जानुपर्छ । बुहारी भएर घरमा काम गर्नुपर्ने हुन्छ । त्यति बेलासम्म पनि ठिकै हुन्थ्यो । श्रीमान्ले माया गर्थे सासुससुराले अ¥हाएको काम गरे हुन्थ्यो भने आफ्नो छोरो ठुलो भएपछि छोराको विवाह गरेर बुहारी भित्र्याएपछि आफू सासू हुनुपर्ने भएकाले छोरी वा बुहारी हुन भन्दा त झन् सासू हुन् गाह्रो हुँदो रहेछ भन्ने कुरा व्यक्त गर्दै रत्यौली गाउँछन् :
घुम्दै आयो सासूको पालो ।
सबैभन्दा यही रहेछ अप्ठ्यारो ।।
यसै गरी बाउआमाले अब आफ्नो छोरा ठुलो भयोे छिट्टै बुहारी भित्र्याउन पाए सुख पाइन्थ्यो भन्ने पनि हुन्छ । तिनीहरूका लागि सुझाव दिँदै आजकलका बुहारी आएर तिमीहरूको सुसार गर्दैनन् बरु उल्टै बुहारीको कमारो बन्नुपर्छ । त्यही भएर छिटो छोराको बिहे गर्ने कुरा नसोचे हुन्छ भन्दै गीत गाइन्छ :
बुहारीको पालो छ अहिले ।
भो भो रहर नगर कसैले ।।
यसैगरी समाजमा अरूको कुरा काट्ने, कुरा लगाउने चलन पनि पहिल्यैदेखि चलिआएको छ । आफ्ना परिवारका हुनेनहुने कुरा एकअर्कामा सुनाइदिए भने यस्ता कुराले घर परिवारमा फाटो ल्याउँछ । कलझगडा, मनमुटाव गराउँछ । त्यसकारण गाउँलेका कुरा सुनेर नराम्रो सोचाइ लिनुहुँदैन । तिम्रा ससुरा जाती छन् । तिम्रो बाबा जस्तै हुन् भन्दै गीत गाइन्छ :
यो गाउँका नसुने कुरा ।
तिम्रै बाबा जस्ता छन् ससुरा ।।

२.१४ बेहुलीको माया
छोरी हुर्के र बढेपछि अर्काको घर जानुपर्ने जात भएकाले बाउआमाले बिहे गरिदिन्छन् । यसरी बिहे गरेर पठाउँदा बेहुलीका भाइबैनी कति पिर मानेर रोए होलान्, दिदीलाई पछ्याउँदै दिदीलाई नजानू भने होलान् भन्ने भावका रत्यौली गाइन्छ :
जन्मघर तिम्रो केही भैन ।
रुँदै अघि लाए हुन् भाइबैना ।।

२.१५ छोरीको वेदना
विवाह नहुँदासम्म माइती घरमा हाँसखेल गरेर दिन बिताएकी छोरीले अब विवाह भएर घर जान परेपछि दुःख हुन्छ भन्दै रोएकी हुन्छे । यसरी छोरीले विवाहको दिनमा डोली चढेर बिदा हुँदा दुःखको भावको गीत गाइन्छ :
आमा म रुँदै जानी ।
कोल्टे परेको चाम्दानी ।।
यस्तै छोरीको घर नराम्रो परेको, लोग्ने जड्याहा कुटपिट गर्ने वा सौता ल्याएर दुःख दिएको छ भने अथवा सासू कडा परेर बुहारी सहिनन् भने पनि कति छोरीहरू माइतै बस्नुपर्ने बाध्यता पनि आइलाग्छ । यसरी घर बिग्रेकी छोरी माइतमा बसेकी छ भने फेरिे नराम्रो भावना भएका लोग्ने मान्छेले फकाउन सक्छन् । त्यसकारण माइत बसेकी छोरी सतर्क बन्नुपर्छ भन्ने गीत गाइन्छ ः
माइती घर बसेको जोबन ।
जल्ले चुरोट दिए नि भो भन ।।

२.१६ सम्धिनीको गुनासो
नेपाली चलन चल्ती अनुसार छोरीको बिहे गर्दा दाइजो दिनुपर्ने हुन्छ । जति पछि भयो उति बढी दाइजोको प्रथा बढ्दै आएको छ । केटी पक्षकाले ऋणधन गरेर सकेसम्म राम्रै तरिकाले छोरीको बिहे गरी दाइजो दिएर पठाउँछन् । सम्धीसम्धेलो गर्दा केटाकी आमा (सम्धिनी) लाई छड्के तिलहरी पनि लगाइदिन्छन् । त्यति गर्दा पनि सम्धिनी गजक्क फुलेर बसेको हुनाले केटीकी आमाले गुनासो गर्छिन् :
छोरी दिनी छड्के नि दिनी ।
अझै खुसी छैनन् नि सम्धिनी ।।

२.१७ समाजलाई सन्देश
मानव समाजमा प्रायः सबैका छोराछोरी हुन्छन् । छोराछोरी ठुला भएपछि विवाह गर्नुपर्छ । छोरीको बिहे गरेर अर्काे घरमा पठाइन्छ भने छोराको बिहे गरेर बुहारी ल्याइन्छ । छोरा भएपछि बुहारी आउँछन् । बुहारी आएपछि कसैका पनि छोरा–बुहारीले आफ्ना बाआमालाई हेला गर्ने, नराम्रो व्यवहार गर्ने, रुखो बोली गर्ने व्यवहार नगर्नू भन्ने सन्देश पनि रत्यौलीमा पाइन्छ ।
छोरा थिए बुहारी आए ।
रुखा वचन कहिल्यै नि नलाए ।।
साथै मानिस सामाजिक प्राणी भएकाले समाजमा मेलमिलाप र सद्भाव बढाउनुपर्छ । सबैलाई दयामाया देखाउनुपर्छ, दिनखान जान्नुपर्छ, आफूले नजानेका कुराहरू पनि अरूबाट सिक्नुपर्छ भन्ने भावमा पनि रत्यौली गाइन्छ :
आऊ बस खाऊ भन्नुपर्छ ।
रुखमुनि बसे नि पात झर्छ ।।

यस्तै हुर्केका, बढेका छोराको बिहे गरेर श्रीमती ल्याउने त सबैको चलन नै हो । श्रीमती ल्याएपछि कति छोराहरूले बाबुआमालाई हेला गर्ने बुढेसकालमा सहारा नदिने जस्ता व्यवहार देखाउने छोराहरूलाई सन्देश दिएर रत्यौली गाइन्छ :
श्रीमतीलाई राम्ररी पाले ।
जन्मदिने बाउआमा नफाले ।।
यसैगरी सबैका बाउआमाले छोराछोरीलाई हुर्र्काएका हुन्छन् । आफू खाई नखाई धेरै दुःख कष्ट सहेर आफ्ना सन्तानलाई हुर्काएका बढाएका हुन्छन् । आमाको माया ममताले हुर्केर बढेको छोराले बिहे गरेर श्रीमती ल्याएपछि आफ्नी आमाको गुन बिर्सेर आमालाई हेला गर्छन् । त्यसैले कहिल्यै आफ्नी आमाले दिएको ममता नबिर्सनू र आमालाई राम्रो गर्नू भनेर पनि रत्यौली गाइन्छ :
आमाले सारेको फूल ।
बाबुले कहिल्यै नि नभुल ।।
छोराले आफूले बिहे गरेर श्रीमती ल्याएपछि आमालाई अलि वास्ता नगर्ने वा झर्कने फर्कने गर्ने गरेको पाइन्छ । कसैले सम्झाउने हो भने अथवा आमालाई राम्रो हेर्नु है बाबु भन्ने अर्ती दिँदा लाउन, खान दिएको छु, अरू मैले के गर्ने र ? भनेर झर्कने गरेको पाइन्छ भन्ने गरेको पनि पाइन्छ । छोराको यस्तो व्यवहारमा समाजले लाउनु–खानु मात्र ठुलो कुरा होइन, आमाछोरामा अथवा परिवारमा भावनात्मक सद्भाव र आत्मीयता चाहिन्छ भन्दै रत्यौली गाइन्छ :
दिए पनि सुनको हार ।
पुग्दैन आमाको दुध भारा ।।

२.१८ माया प्रीतिका कुरा
श्रीमान् र श्रीमती बिचको अति माया दर्साउने भाव पनि रत्यौलीमा पाइन्छ । बुहारी भएपछि घरको धन्दा गर्न छिटो उठ्नुपर्ने तर आफ्ना श्रीमान्ले आफूलाई बिहान छिटै उठ्न नदिने, यस्ता गीत पनि गाइन्छन् :
झन् बिहानी झनी पख ।
झन् मायाले झनी तान्यो ।।
यस्तै श्रीमतीले पनि आफ्नो श्रीमान्को अति माया लाग्ने, दिनरात सम्झने गर्छु भन्दै मस्त निद्रामा पनि तिम्रै सम्झनाले गर्दा ब्युँझन्छु भन्ने भावको रत्यौली गाइन्छ :
सल्ला धूपैले साइला ।
निन्द्रामा बिउँझायो तिम्रो रूपैले ।।
यसैगरी आफ्नो लोग्ने घरमा छिटो नआइपुगेकाले पिर परेर खोज्दै हिँड्छु, कहिले गाउँमा गएर सोध्छु त कहिले बँेसी तिरै पो छ कि भनेर खोज्दै हिँड्छु, लोग्ने भने रोधीमा गएर मस्ती गरेको यता स्वास्नी भने मायाले पिरलिएको भाव पनि रत्यौलीमा पाइन्छ :
लाइटर गोजीमा साइला ।
म रुँदै गामबेंसी माया रोधीमा ।।
श्रीमान् श्रीमती एकै ठाउँमा नभएका अथवा श्रीमान् विदेश कमाउन गएको अवस्थामा श्रीमतीलाई अति माया लाग्ने अथवा जतिबेला नि श्रीमान्को याद आउने, सम्झिँदा काम गर्न पनि मन नलाग्ने परिस्थिति भयो भन्दै कता यस्तै सम्झँदा सम्झँदै दिमागै ब्रिगने त होइन भन्ने भाव पनि यी गीतमा पाइन्छ :
यो मायाको सम्झना अति भो ।
सम्झनाले बिग्रने मति भो ।।
यसैगरी कमाउन विदेश पुगेका श्रीमान्को मायामा बाँचेका श्रीमतीले फोनमा कुरा गर्दै दिन काटेका हुन्छन् भने पछि त्यही टेलिफोनको तार पनि चुँडियो अथवा किन हो लोग्नेको फोन आउन छोड्यो भन्दै पिरोलिएर रत्यौली गाएको पाइन्छ :
च्याट्टै छुट्यो टेलिफोन तार ।
आउनै छोड्यो मायाको खबर ।।

२.१९ जन्मस्थानको प्रशंसा
कास्की जिल्लाको सदरमुकाम पोखरा ज्यादै सुन्दर, शान्त ठाउँ भएको र यहाँका बासिन्दा पनि ज्ञानी, गुणी, इमान्दारका साथै मिलनसार छन् । सबैजना सुखी र खुसी छौँ भन्ने भावको रत्यौली पनि गाइन्छ :
दाइ म त स्याङ्जाली होइन ।
पोखरा छोडेर गइछैन ।।
आफू पोखरामा बस्ने हुनाले देख्न, भेट्न मन लाग्यो भने गाउँबाट आउन सकिन्छ । भेट्न आउन सजिलो, घुम्न आउन राम्रो ठाउँ छ । आफ्नो मन भयो भने सजिलै आउन सकिन्छ, मनै भएन भने त टारे भैहाल्यो नि टाढा छु भनेर भन्दै रत्यौली गाइन्छ :
पोखरा के टाढा छ र ?
मन भए धन कति लाग्छ र ?
यस्तै पोखरामा जन्मेहुर्केका व्यक्ति भद्र, शिष्ट, विनयशील हुन्छन् । कसैलाई रुखो वचन लगाउँदैनन् भन्ने भाव पनि रत्यौलीमा पाइन्छ :
म त हजुर पोखरेली ठिटो ।
कहिल्यै पनि बोल्दिन नमिठो ।।

२.२० पैसा उठाउने उद्देश्यले
आजकल गाउँघर, सहर–बजारमा विभिन्न सङ्घसंस्था खुलेका छन् । जसमा आमा समूह, महिला समूह आदि टोलटोलमा छन् । यसरी खुलेका सङ्घसंस्थाको कोष वृद्धि गर्नका लागि टोलमा भएका शुभकार्यमा गई केही रकम उठाउने गर्दछन् । यस्तै बिहे गर्न लागेको घरमा पनि महिला समूह वा आमा समूह गएर रत्यौली गाई पैसा माग्ने गर्दछन् । घरका देखि लिएर इष्टमित्रसम्मलाई गीतमै सम्बोधन गरेर पैसा मागरे पनि रत्यौली गाइन्छ :
कता गए यो घरका पाहुना ।
पालैपालो आइदेउन फूल लाउन ।।
यस्तो रत्यौली गाएर पैसा उठाउँदा जबरजस्ती नगरी शिष्ट, भद्र पारामा गाएर, सबैलाई मनोरञ्जन गराउँदै आफ्नो गच्छे अनुसारको पैसा दिनुभए भैहाल्छ नि भन्ने भावका गीत पनि गाइन्छ :
तल्लो घर उपल्लो धन्सार ।
लाउनुस् फूल आम्दानी अनुसार ।।

२.२१ सामाजिक व्यङ्ग्य
छोराको बिहे गर्न लागेको परिवारले आफ्ना इष्टमित्र, नातेदार, छरछिमेकी आदिलाई बोलाएर जन्त लान्छन् । आफ्नो आर्थिक अवस्थानुसार वल्लोपल्लो गाउँका मान्छेलाई बोलाउन असमर्थ हुँदा तिनै वल्लोपल्लो गाउँका महिलाहरू पनि रत्यौली हेर्न मन लागेर रत्यौलीमा सामेल भई आफूलाई बिहेमा त डाकेनौ डाकेनौ तर हामी रत्यौली हेर्न मन लागेर आएका हौँ, रत्यौलीमा आई भनेर कुरा नकाट है भन्ने भावको रत्यौली गाइन्छ :
जन्त जान डाकेनौ ।
रत्यौलीमा आइती नभन
चिउरा कसार खाइती नभन ।।

२.२२ सामूहिक मनोरञ्जन
बिहे घरमा रातभर अथवा दिनभर रत्यौली खेल्दा अति रमाइलो लागेर समय बितेको पत्तै नपाएको अथवा अझै रत्यौली खेल्ने धोका नपुगेकाले जन्ती आएको देखेर एकछिन उतै बस हामी रत्यौली गाउँछौ भन्ने भाव व्यक्त गर्दै गाउँछन् :
अझै पनि पुगेन धोका ।
रातो डोली चौँरी गाई त्यहीँ रोक ।।
यस्तै रत्यौली खेल्न आएको धेरै समय भइसकेको तर अति रमाइलो लागेकाले घर जानै मन नलागी अबेला भएकाले घरकाले खोजेर अहिलेसम्म रत्यौली मै रहिछे, घरमा भात पकाउन नि ढिलो हुने भयो भन्दै घरकाले गाली गर्छन् कि भन्ने भावमा पनि गाइन्छ :
रत्यौलीले जुलुमै पार्यो।
घरमा कुरा पुगेछ लौ मार्यो ।।
यसरी घरका मान्छेले रत्यौलीमा रमाएको थाहा पाएर कोही बोलाउन पठाएपछि मन नलाई नलाई रत्यौली छोडेर घर जाने बेलामा पनि रहर त कहिले पुग्छ र ? तर पनि अब त जानुपर्छ भन्ने भाव पाइन्छ :
अब त जाम क्यारे घर ।
कहिल्यै पनि पुग्दैन रहर ।।

२.२३ विविध मनोरञ्जन
रत्यौली गीत गाउँदा आफूलाई अति सुन्दरी भन्दै जन्तीमा राम्रा दुलाहाका बा, दाइ, भाइ भएपनि रत्यौली खेल्ने महिलाहरूमा त म नै राम्री छु भनेर आफ्नो बखान गरेको भाव पनि पाइन्छ ः
काँक्रा फले तल्र्याङतुर्लुङ फर्सी फले भैँ ।
अरे हाई हाई फर्सी फले भैँ ।।
जन्तीमा राम्रा दुलाहाका बाबा ।
रत्यौलीमा राम्री मै अरे हाई हाई ।।
रत्यौलीमा राम्री मै ।।
यसरी नै आफूलाई सबैले मन पराउने अथवा आफू राम्री भएकीले सबैले हेर्ने, बोलाउने गर्छन् भन्दै पनि रत्यौली गाइन्छ ।
हेरन खलाँसी कान्छा
ड्राइभरले भागेर जाम भन्छ
सबैले आफूलाई मन पराएर हिँड जाऊ भन्थे तर कसैले भन्दा पनि मानिन । अहिले आएर यही गाउँमा कुटो, कोदालो गरेर दुःखसँग दिन काट्नु परेको छ । पहिला लाहुरेले जाऊँ भन्दा गएको भए कति सुख हुन्थ्यो होला । तर आफ्नो कर्मै दुःखी भएकाले नगएर दुःख भोग्नु परेको होलानि भन्ने भाव पनि रत्यौलीमा पाइन्छ ।
त्यो मायाले जाम लाहुर भन्थ्यो ।
दुःख पाउने करिम के मान्थ्यो ।।
आमा जाम भन्यो मलाई ।
कल्ले हङ्कङ्को लाहुरेले ।।

२.२४ अश्लीलता प्रदर्शन गर्दै
बिहे घरमा जम्मा भएका सबै लोग्नेमान्छेहरू अथवा जन्ती दुलही लिन भनेर हिँडेपछि त्यस बिहे घरमा महिलाहरू मात्र रहन्छन् । रत्यौली खेल्ने भनेर जम्मा भएका महिलाहरूमध्ये नाच्न जान्ने महिलाले दुलाहाले पहिला लगाउने गरेका दौरा सुरुवाल वा सर्ट–पाइन्ट, टोपी जुत्ता लगाई नाच्न थाल्छन् । रत्यौलीमा यसरी केटाको पहिरन गरेर सकेसम्म अरूले नचिन्ने गरेर नाच्ने महिलालाई लुठो भनिन्छ । यसरी लुठो बनेर नाच्ने महिलाले रत्यौली गाउन बसेका अरू महिलाप्रति छाडा कुरा गरेर, आफू ती महिलाको लोग्ने हुँ भनेर, दुलहाकी आमा, दिदी, बहिनीलार्ई आफूसँग नाच्न लगाएर रत्यौली खेल्छन् । यसरी नाच्दा दुलहाकी आमाले, दिदीले पोइ साटी, अर्कैसँग लागी भन्ने जस्ता अश्लील गीत पनि गाउँछन् ।
रोजी रोजी ले लुठा, खोजी खोजी ले ।
दुलाहाकी आमालाई भुँडी बोकाइदे ।।
बारीका डल्ला सय साठी ।
दुलाहकी आमाले पोइ साटी ।।

२.२५ विकृतिका गीत
रत्यौली गाउँदा समाजमा देखिएका विकृति र विसङ्गतिका गीत बनाएर पनि गाइन्छ । पहिलादेखि चलिआएको चालचलन, रहनसहन, वेशभूषा सबै छोडेर आजकल नयाँनयाँ चलन चलाएका, पहिला लोग्ने मान्छेले मात्र लगाउने पाइन्ट आजकलका महिलाले लाउने गरेका जस्ता भावका गीत रत्यौलीमा गाइन्छ :
हेरन दुनिया ।
लाए पाइन्ट फाले गुनिया ।।

३. निष्कर्ष
विवाहको अवसरमा दुलहाका घरबाट जन्ती दुलही लिन हिँडेदेखि दुलही लिएर नआउँदासम्म महिलाहरू मात्रै बसेर गाउने गीत नै रत्यौली हो । रत्यौलीलाई महिलाहरूले नाच्ने, गाउने गरी मनोरञ्जन प्राप्त गर्ने विशेष अवसरका रूपमा लिएका हुन्छन् । मनोरञ्जन गर्नु भन्नुको अर्थ मनभित्र रहेका विभिन्न आवेगलाई निर्धक्कसँग पोखेर मन हल्का पार्नु हो । आफ्ना मनभित्रका अथवा मानव जीवनका दुःख, सुख, हर्षविस्मात् जस्ता अनुभूतिहरूलाई प्रस्तुत गर्ने माध्यमका रूपमा पनि रत्यौलीलाई लिइन्छ । वास्तवमा लोकले अनु्भव गरेका, भोगेका, देखेका, सुनेका, जानेका, सिकेका र प्रत्यक्ष अनुभव गरेका अनुभूति र अनुभवको साक्षात्कारको स्थिति रत्यौलीमा प्रस्तुत भएको पाइन्छ । यसमा लोकवासीका हरेक परिवारमा हुने गरेका मेलमिलाप, मनमुटावदेखि सम्पूर्ण व्यावहारिक पक्ष पनि देखाइएको पाइन्छ ।

विशेषगरी छोराको विवाह गरेर बुहारी भित्र्याएपछि त्यो घरमा हुने वस्तुस्थिति वा सासू भएर भोग्नुपरेका सजिला र अप्ठ्यारा पाटाहरू बुहारी बनेर भित्रिन आएपछि बुहारीका रूपमा भोग्नु, सहनु परेका दुःख, कष्ट, वेदनाका भाव झल्किने गीत पनि रत्यौलीमा गाइन्छ । यसै गरी छोराको बिहेपछि आफ्नै आमा छोरामा पनि मनमुटाव बढेको अथवा दुबै पक्षका आआफ्नै मर्म भएका कुराहरूलाई रत्यौलीमा प्रस्ट्याइएको पाइन्छ । यस्तै दिदीबहिनी र दाजुभाइमा भएको मायाममता, छोरीचेलीका वेदना बोकेका अनेकौ भाव पनि रत्यौलीमा गाइन्छन् । मायाप्रीतिका कुुरा, मातृभूमिको माया, आफ्नै आत्मगौरव देखाउने जस्ता अभिव्यक्ति पनि रत्यौलीमा सुन्न पाइन्छ । रत्यौली मनोरञ्जनको साधन मात्र नभई समाजका अन्धविश्वास, रीतिथिति, चालचलन, रहनसहन, संस्कृति, लवाइ, खवाइ, सोचाइ आदि प्रस्ट्याएर लोकवासीलाई सजग र सचेत गराउँदै अर्तीउपदेश दिने भूमिका पनि खेलेको पाइन्छ । यसरी रत्यौलीमा लोकभाषा, लोकभावना, लोकविश्वास र लोकपरिवेश समेटिएकाले लोकजीवनको सौन्दर्य भेटिन्छ ।

सन्दर्भ सूची
गिरी, जीवेन्द्रदेव (२०५८), लोकसाहित्यको अवलोकन, काठमाडौँ : एकता प्रकाशन ।
थापा, धर्मराज (२०३०), गण्डकीका सुसेली, काठमाडौँः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
न्यौपाने, कुसुमाकर (२०६६), पश्मिाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगीतहरूको अध्ययन (विद्यावारिधि शोधप्रबन्ध), काठमाडौँ : त्रि.वि. नेपाली केन्द्रीय विभाग ।
पराजुली, कुष्णप्रसाद (२०५७), नेपाली लोकगीतको आलोक, काठमाडौँ : वीणा प्रकाशन प्रा.लि. ।
बन्धु, चूडामणि (२०५८), नेपाली लोकसाहित्य, काठमाडौँ : एकता बुक्स ।
शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइँटेल (२०६३), लोकवार्ताविज्ञान र लोकसाहित्य, काठमाडौँः विद्यार्थी पुस्तक भण्डार ।