‘प्रधानमन्त्री ओली बालुवाटारमा असुरक्षित भए भद्रकालीको सैनिक मुख्यालयमा गएर बसे हुन्छ’

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौं, ३ साउन, २०७६ । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आइसकेको बताएका छन् ।

पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आज आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै गजुरेलले यस्तो बताएका हुन् ।

उनले सरकार र विप्लबवीचको वार्तालाई लिएर नेपाली जनता अहिले असाध्यै द्विविधामा रहेको पनि टिप्पणी गरे । उनले भने, ‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ । दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरु आएका छन् । तर, जनता भने पुरै कन्फ्युजनमा छन् । साँच्चै वार्ता होला त भनेर ?’

उनले भीडन्तहरु हुँदै गए देश आन्तरिक गृहयुद्धमा रुपान्तरण हुने खतरा पनि औंल्याए । उनले भने, ‘अहिलेको परिस्थिति ल्याउनको लागि ओलीजीको सरकार जिम्मेवार छ ।’ उनले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु नै गलत भएको पनि टिप्पणी गरे । गजुरेलले भने,’प्रतिबन्ध लगाउनु नै हुँदैन थियो । संविधानमा पनि यो कुरा निषेध गरिएको छ ।’

एनसेलको मुख्यालयमा भएको प्रेसर कुकर बमकाण्डलाई लिएर सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको उनले सुनाए । उनले भने, ‘घट्ना हुनु दुःखद् हो । त्यस घट्नामा संलग्न दोषीलाई बरु अदालती कारबाही गरेको भए हुन्थ्यो ।’

उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राखे हुन्छ भन्ने अभिव्यक्ति पनि दिए । उनले भने, ‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भइगयो नि । तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन । यो गलत छ ।’

गजुरेलले सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्नसमेत बन्देज लगाएकोमा आक्रोश पोखे । उनले भने, ‘सरकारले शान्तिपूर्ण कार्यक्रम पनि गर्न दिएन । विप्लवजीहरुसँग कि त राजनीति छोड्नुपर्ने विकल्प हुन्छ कि त भूमिगत हुनुपर्ने । होइन भने बादलहरुजस्तै आत्मसमर्पण गर्नुपर्ने थियो । तर, राजनीति गर्नेले त्यसो गर्दैन । भूमिगत भएर पनि राजनीति सञ्चालन गर्नुपर्छ ।’