टेलिकमको टेलिफोन र पोष्टपेड मोबाइल झन् सस्तो

मुख्य समाचार विषेश समाचार सूचना प्रविधि

काठमाडौँ, १ साउन, नेपाल टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन (पिएसटिएन) तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने भएको छ । आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत रु. ५ सय मात्र लिने व्यवस्था भएपछि टेलिफोन र मोबाइल सेवा सस्तिने भएको हो ।

अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने छ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो ।

उक्त विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पथ्र्यो । साउन १ गते अर्थात् आजैदेखि भने जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्नेछ ।