कटेरो, लुतो र साउने संक्रान्ति — डिल्लीराज अर्याल

कला/संस्कृति मुख्य समाचार विचार

आज साउने संक्रान्तिका दिन लुतो फाल्ने कुरा सम्झिरहेको छु। लुतो फाल्न सन्ठी सल्काएर मजाले चिच्याउँदै – “ए फलाना मेरो लुतो लैजा” भन्ने गरेको सम्झन्छु म र सोच्छु। साधारण लुतो फाल्दा त त्यसरी चिच्याउने संस्कारको म नचिच्याइकन मैले गरेको कामलाई कसले मान्यता दिन्थ्यो? हो चिच्याउनै पर्छ। हल्ला मच्चाउनै पर्छ र बल्ल काम गरेको ठहरिन्छ। आज बडे बडेका मनमा पनि यही सिद्धान्तले बास गरेको छ र त केही गरेको हुन्न तर हल्ला गर्छ। हल्ला गरेपछि गरेको ठहरिन्छ। सबै ठुलाले विश्वास गर्छन् र जुँगामा ताउ लाउने अवस्था आउँछ। आहा हाम्रो संस्कार!

लुतो त हरेक वर्ष फालिँदै आएको हो तर कहिल्यै गएन। प्रत्येक वर्ष सन्ठी बालेकै हो, लुतो फालेकै हो। कटेरो अर्थात् लुते कटेरो बनाएर साउने आरु, दारिम, अमिलो राखेकै हो र त्यसमा गेडागुडी पनि छरेकै हो तर लुतो निख्रिएन। हरेक वर्ष नफालिनहुने भयो। अझ हरेक वर्ष फाल्दासमेत लुतोले सताएकै हो, सताएकै छ र आगामी दिनमा पनि सताउने लक्षण जस्ताको तस्तै छ। अझ बढ्ने पो हो कि!

बुढा पुरानाले लुतो फाले, फाल्न लगाए। तिनका पालामा यो लुतोले आज जति सताएनन्। मैले लुतो ब्यहोरेको छु। लुतोले कतिसम्म प्रभाव पार्छ भन्ने पनि मलाई थाहा छ। लुतोलाई नचिन्नेहरूले जे भनून्, जस्तो ठानून् तर जानेकाले बल्ल यसको रहस्य कस्तो भनेर भन्न सक्छन्, बुझाउन सक्छन्। यो लुतो फाल्ने चलन तिनैले चलाएको हुनुपर्छ जसले लुतोको अर्थ, लुतोको महत्त्व बुझ्यो। अनुभव गर्यो र फाल्ने विधि अपनायो।

बुढाहरूले जानेका कतिपय कुरालाई विधिका रूपमा परम्पराका रूपमा स्थापित त गरे तर त्यसको रहस्य र महत्त्व बताएनन्। अरूलाई नबताएकाले ती सबै जानकारी तिनैसँग बिलाए। हामीले समातेको भनेको त्यही चलन मात्र, त्यो पनि केवल सन्ठी सल्काउने र चिच्याउने मात्र। कटेरो बनाउने र छर्ने मात्र।

मैले कटेरो बनाउन हतार गर्दा मेरी आमा – “ कटेरो आत्तिएर बनाउने कुरो हो र! यो त अलि अबेला ४\५ बजेतिर बनाए हुने कुरा हो। दिउँसकै काम रोकेर कटेरो बनाउन पर्दैन। अरू सबै काम सिध्याएर बनाए हुन्छ, तर म! मलाई त साउने आरुको चस्को लागिसकेको हुन्थ्यो। कागती अमिलाको छटपटी लागेको हुन्थ्यो। कटेरो बनाएर त्यसमा नराखेसम्म तिनको प्रयोग गर्न हुन्न। खान हुन्नले छुन्थ्यो मलाई। त्यसैले आमा, बुबैले जे भने पनि भात खानु अगाडि नै सबैथोक जम्मा गरिसकेको हुन्थें। केवल त्यसलाई आकार दिन मात्र बाँकी रहन्थ्यो। भात खानासाथ शुरु हुन्थ्यो त्यसकै लट्टो!

आजको पुस्ताले त्यो देख्नै पाउने भएन। जान्ने नै भएन। नजानेपछि न लुतो फाल्छ न कटेरो बनाउँछ।अनि यो पुस्ताले लुतो नभोगेर कसले भोग्छ? यिनका कटेरा नबगेर कसका बग्छन्? मेरी बुबैले भन्ने गरेको भनाइ सम्झन्छु- “लुतो नफाली, कटेरो बनाएर त्यसमा नराखी खानेलाई सधै लुतो आउँछ”।
आज जतासुकै, जुनसुकै क्षेत्रमा लुतो देखापर्नु, त्यसको प्रभाव देखिनुको कारण अरू के हुन सक्छ? हरेकलाई लुतोले सताएको छ। हरेकले कन्याएको कन्यायै छ तर लुतो फाल्न छोडेको छ, कटेरो बनाउन छोडेको छ।

ती सबै कुरा अब बिर्सेको छ र त अवस्था अर्कै भएको छ। आज हरेकले लुतो कन्याउँछ र घाउ बनाउँछ। लुतो कन्याउनमा आनन्दको अनुभूति गर्छ तर लुतो फाल्दैन। कटेरो बनाउन्न। मकै छोडाएको खोयो लिएर लुतो कन्याउनुको मजा भने आजको मान्छेले खुब अनुभव गरेको छ र कन्याउँदै आएको छ तर त्यसको निवारणको तरिका अपनाउन बिर्स्यो। मेरा बाबु बाजेले जानेर जोगाएर राखेका यस्ता थुप्रै परम्परा, ज्ञान हामीले बिर्सँदै गएका छौं। अब मलाई लाग्न थालेको छ- मेरा व्यावहारिक हिसाबले खोजेका, जानेका कुरा पनि समयका अन्तरालमा विस्मृतिका गर्भमा बिलाउलान् जसरी हामी भन्दा अघिल्लो पुस्ताले जानेका, सिकेका र बताउन नभ्याएका वा बताएकै कुरा पनि बिर्सँदै गएका छौं।

बिर्सनु, पुरानालाई नमान्नु, नपत्याउनु, त्यसको विधिसम्मत प्रयोग गरेर हो होइन खुट्याउनेतिर नलाग्नु आजको वैज्ञानिकता बनेको छ, प्रगतिशीलता बनेको छ। तिनलाई ठाडै उडाउने प्रगतिशील, ‘विचार गर्नुपर्छ’ भन्नेचाहिं पुरातनपन्थी र विचार गर्ने, प्रयोग गर्ने त प्रतिगमनकारी! हाम्रो भौतिकवाद कति अग्रगामी छ यसैले बताउँछ तैपनि मान्छेहरू सबै किसिमका भेटिँदैछन्। हो, संक्रान्ति मनाउनेहरू, लुतो फाल्न चाहनेहरू, फाल्न अग्रसर हुनेहरू पनि समाजमा छन्। लुतो सार्न उद्यत, लुतो कन्याएर दङ्ग पर्नेहरू, त्यसमा मजा लिनेहरू पनि छन् र त साउने संक्रान्ति पनि हरेक वर्ष आउँदै गरेको छ।