प्रिन्सिपलबाट शिक्षक कुटिए

मुख्य समाचार शिक्षा

भोजपुर, ३१ असार, २०७६ । भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रिन्सिपलले कुटपिट गरेका छन् । हिजो आइतबार बिहान खाना खाएर विद्यालय जाने तयारी गर्दै गर्दा आफूलाई प्रिन्सिपल रमेशकुमार आलेले बोलाएर टाइ र कोट नलगाएको निहुँमा कुटपिट गरेको पीडित शिक्षक अतित अधिकारीले बताए ।

आइतबार विद्यालयको पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशित गर्ने दिन थियो । ‘पढाइ सकेपछि म स्टाफ रुममा टाइ र कोट झुण्ड्याएर जान्थे भोलिपल्ट विद्यालय समयमा लगाएर आउँथे, हिजो खाना खाएर सर्ट र पेन्ट लाउँदै गर्दा सहयोगीमार्फत बोलाउनु भएको खबर आयो उहाँको चेम्बरमा गएँ खलासीजस्तो भएर आउने भनेर गाली गर्नुभयो म कसैको गाली खान आको हैन मलाई खलासी नभन्नुहोस् भन्दा एक्कासी बाहिर प्यासेजमा ल्याएर कुट्नुभयो’ पीडित अधिकारीले भने । यो भन्दा अघि पनि पटकपटक धम्की दिने गरेको भन्दै उनले आफूलाई हातले गालामा र ढाडमा कुटपिट गरेको बताए ।

ताप्लेजुङ्ग जिल्ला सिरिजंघा गाउँपालिका वडा नं. १ घर भएका २८ वर्षीय अधिकारी पाँच महिनादेखि सो विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँथे । आफ्नो साथमा विद्यालयको नियुक्ति पत्र पनि नभएको अधिकारीले बताएका छन् । आफ्नो एक महिनाको पारिश्रमिक ३५ हजार पनि रोक्का गरिदिएको र विदा गरेको उनको भनाइ छ ।

अधिकारी अहिले न्यायका लागि प्रहरी प्रशासन, पत्रकार गुहारिरहेका छन् । उनले शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ र जिफन्टलाई बोधार्थमार्फत लिखित निवेदन दिएका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आफू कहाँ कारवाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरी समाधान गरिदिन लेखिपठाएको बताए ।

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रुद्र राईले दुवै पक्षलाई बोलाएर छलफल गरी समस्याको समाधान खोजिने बताए । नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तीर्थकुमार राईले एउटा श्रमजिवीमाथि भएको कुटपिटमाथि आपत्ति जनाएका छन् । उनले घटनाको यथार्थ खोजी सम्बन्धित निकायले समाधानको बाटो खोज्नुपर्ने औंल्याए ।

यता शिक्षक अधिकारी माथि कुटपिट गरेको आरोप लागेका रमेशकुमार आलेले भने शिक्षकको व्यवहार नै अस्वाभाविक भएकोले विद्यार्थी र अभिभावकबाट समेत गुनासो आएको बताए । विद्यालयमा टोलाउने काम नगर्ने भएको कारण सम्झाएको उनले बताए । आफूमाथि कुटपिटको आरोप निराधार भएको आलेले बताए । निजको तलबको चेकसमेत दिन लागेको तर अधिकारीलाई ननिकालेको आलेले बताए ।