टेलिकमले इन्टरनेटको शुल्क वृद्धि नगर्ने

मुख्य समाचार विषेश समाचार सूचना प्रविधि

काठमाडौँ, ३१ असार, २०७६ । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरे पनि नेपाल टेलिकमले सो शुल्क ग्राहकलाई नलगाउने भएको छ । टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगर्ने जनाएको हो ।

अन्य इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुले भने १३ प्रतिशत सेवा शुल्क लाग्ने भनेर सूचना जारी गरिसकेका छन् ।

टेलिकमद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियतसहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको छ ।’ दूरसञ्चार सेवा शुल्क वृद्धि गर्नुको साटो इन्टरनेट सेवामा झन् छुट दिइएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गमका हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । टेलिकमले हाल ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको छ ।