मुख्यमन्त्रीले सांसदलाई भने, ‘तथ्यमा रहेर बोल्नुहोस्’

प्रदेश मुख्य समाचार

सभागोष्ठीमा मात्रै १५ दिनमा डेढ अर्ब रकम खर्च
बुटवल, ३० असार, २०७६ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै नैतिकता माथि प्रश्न उठ्ने गरी सदनमा प्रस्तुत नहुन सभासदहरुलाई आग्रह गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार यहाँ आयोजना गरेको संसदीय अभ्यास र व्यवस्थापन कार्यविधिसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले तथ्यमा आधारित भएर बोल्न सभासदहरुलाइ आग्रह गरेका हुन् ।

संसदको गरिमा र महत्वलाई कमजोर हुन नदिन सभासदहरुले तथ्यमा आधारित रहेर विषय बस्तुको उठान गर्नु पर्नेमा मुख्यमन्त्री पोखरेलले जोड थियो । ‘सदनमा माननीय ज्युहरुले उठाएका विषयबस्तु र त्यसको तथ्य फरक परे जनताको विश्वास घट्छ । नैतिकतामा प्रश्न उठ्छ । त्यसैले तथ्यलाई ध्यान दिनुस्’ मुख्यमन्त्री पोखरेलले भने ।

आइतबारको प्रदेश सभा बैठकमा सत्तापक्ष सभासद तुलाराम घर्तीले असार महिनाका १५ दिनमा मात्रै सभागोष्ठीमा सरकारले डेढ अर्ब रकम खर्च गरेको भनाइ विशेष समयमा राखेका थिए । घर्तीको सोही भनाइको खण्डन गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘चालु खर्च शीर्षकमा सिंगो मन्त्रालयकै भागमा नपरेको डेढ अर्ब पन्ध्र दिनको सभा गोष्ठीमा सिद्धयाइयो भन्ने कुराको आधार के ?’ । आफैँले पारित गरेको बजेटका विरुद्धमा सत्तारुढ सांसदहरुले बोल्दा तथ्यमा फरक परे त्यसले सदनप्रति जनताको विश्वास घट्ने उनले दोहोर्याए ।