ओखलढुंगामा बाढी, पहिरोबाट पाँच जनाले ज्यान गुमाए

मुख्य समाचार समाज

ओखलढुंगा, ३० असार, २०७६ । ओखलढुंगामा बाढी, पहिरोमा परेर पाँच जनाले ज्यान गुमाएका छन् । निरन्तर परेको वर्षाका कारण आएको बाढी, पहिरोमा परेर जिल्लाका विभिन्न स्थानका पाँच जनाको मृत्यु भएको हो ।

मोलुङ गाउँपालिकामा दुई जना र सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका र सुनकोशी गाउँपालिकामा एक–एक जनाको बाढी पहिरोमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजीव श्रेष्ठले बताए । पाँच मध्ये तीन जनाको पहिरोमा परेर र दुई जनाको बाढीले बगाएर मृत्यु भएको हो ।

मोलुङ गाउँपालिका–७ पात्लेमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनका छोरी १० वर्षीया याङ्जी शेर्पाको ज्यान गएको छ । सिद्धिचरण नगरपालिका–६ जन्तरखानीका गुणबहादुर श्रेष्ठको घर र गोठ पहिरोले बगाउँदा उनकी श्रीमती कान्छीमाया श्रेष्ठको मृत्यु भएको छ । पहिरोले पुरिएको अवस्थामा प्रहरी र स्थानीयले श्रेष्ठको शव निकालेका थिए । पहिरोले गोठमा भएका भैँसी र बाख्रा पनि बगाएको थियो ।

अविरल वर्षापछि आएको बाढीले बगाएर चिशंखुगढी गाउँपालिका ४ की ८५ वर्षीय पासाङकुटी शेर्पा र सुनकोशी गाउँपालिका– ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको थियो ।

त्यस्तै मोलुङ खोलाले बगाएर सुनकोशी गाउँपालिका–४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको पनि मृत्यु भएको छ । खेतमा पसेको भल काट्ने क्रममा अचानक बढेको खोलाले राईलाई बगाएको थियो ।