[ब्यङ्ग्य] जान्ने हुन कति सजिलो — छायादत्त न्यौपाने ‘बगर’

मुख्य समाचार विचार

आहा जान्ने हुन क्या सजिलो काम ! नजान्नु पो घन घोटी बन्चरो बनाउनुजस्तै मुस्किल त । जान्नु आफैं राम्रो काम हो । आफूलाई पनि राम्रो अरुले पनि राम्रै देख्ने । आफन्तले खुसुक्क भनेका जान्ने हुनु भने तुजुकको भरिया हुनु हो रे ! जान्नु जीवन जगतलाई व्यवस्थित गति दिनु हो । जान्ने हुनु अस्तव्यस्त अलपत्र पर्नु र पार्नु पनि हो । कति तुजुके भरियाहरु जान्ने हुन्छन् । जान्नेका कति कुरा शास्त्रमा पाईँदैनन् । विज्ञानले प्रमाणित गर्न भ्याएको हुँदैन । अनुभवले मात्र प्रविधि चल्दैन, ज्ञान, सिप र अभ्यासको खाँचो पर्छ । कर्मयोद्धा आफैंले मै जान्ने सुन्ने छु भन्ने सोच राखेपछि नमच्चिने पिङको सय झड्का लागेको प्रमाण खुल्छ । एउटै व्यक्तिले सबै कुरा जान्नु सम्भव देखिँदैन । जान्ने भएर बधुवा बयल फुक्यासरि फाँडिएका उदाहरण हुन् भरखरका प्रेसप्रसङ्ग, गुठी गड्याङगुडुङ ।

कति जान्नेहरु फुकफाक र धामीझाँक्रीतिर सक्रिय देखिएका छन् । औषधी विज्ञानले पिटेर संसार जितिसकेको बेला जान्नेहरु ढयाङ्ग्रो लिएर हिजोअस्तिको राणाकालीन पद्धतिमा अल्झेका अल्झ्यै छन् । यी जान्नेहरु खाएर नअघाउने र अघाएर नखानेको भीडबाट निस्केर जनतामाझ पुग्नै खोजेनन् । विज्ञका कुरा सुनेर विज्ञानले देखाइको बाटो हिँडे यी जान्नेहरुको सेखी झरेर दाँत फुक्ल्या सर्पजस्ता हुन्छन् रे ! हैन यी ढयाङ्ग्रो समातेकाहरु सबै कुरा जान्ने ? आस्था र विश्वासको इतिहास यिनैले जान्ने, सूचना प्रविधिले पछयाएको दुनियाँ यिनैले चिन्ने ? कस्तो अचम्म ! विचारको बिउ मासेर जिउ पोस्न पल्केपछि सबै जानिँदो रहेछ, जान्ने हुन जानेपछि झन् धेरै जानिने । हुन पनि होला है ! नत्र त टोलकै जान्ने भनेर परम्परित उपाधि त्यत्तिकै कहाँ पाइन्थ्यो र ?

आफ्नो आँगनको डिल लाउन त्यसै राखेर मझेरी मसार्न अघि सर्ने । काम भनेको क्रमशः हुनुपर्ने नि । टुप्पातिर बसेर फेद काट्ने उहिलेका कालीदास सम्झेर काम चल्दैन । भोजको राजसभामा त गुरु कालीदासहरु थिए हाम्रा अगुवाजस्ता स्वघोषित जान्ने कालीदास होइन, अरुले मानेका कालीदास । त्यस्तै विज्ञका अनुभव, तर्क र ज्ञानको उपयोग कसले गर्ने कहिले गर्ने ? पदमा पुुग्दैमा सर्वज्ञ भइने भए महामसानले हाडखोरमा चित्त बुझाउनुपर्ने नै थिएन । आफन्तले छेकेको घेरो उछिन्न नसकेर महामसानले मणिचूडका अगाडि घुँडा टेक्नुपरेको सन्दर्भ नबिर्सेको भए गुठी विधेयकले हतारको पसारो पार्ने थिएन । खुरुखुरु जनताका काम गर्न छाडेर मात्र कार्यकर्ताको भरणपोषणमा लाग्नेहरुले यसरी नै घुँडा टेक्ने हो, अरु त सम्भवै के हुन्छ र ?

गजब छ, कृषिक्षेत्रमा उत्पादकत्व वृद्धिका लागि एकोहोरिएर लाग्दा के बिग्रँदो हो कुन्नि यिनका बाउको ! मेलम्चीको पानी ल्याएर जनतालाई पीडामुक्त गरे आमाको टाउको किन दुख्दो हो कुन्नि ! पानीजस्तो संवेदनशील विषयमा पनि कति बिरालाले बच्चाझैँ पटकपटक भाका सारेर कस्तो नाच नाच्न खोजेको, छि कमिसनले कति नअघा होला ? यातायातमा चलेको लामो सिन्डिकेटको जालोलाई दन्त्यकथामा लगेर टुङ्याइदिने ?

ad

यहाँ त पाइलैपिच्छे भ्रष्टचारीको बिगबिगी छ, खै कसलाई भो कारबाही ? कहिले हुने नियन्त्रण ? छ वर्ष अरबका घामले ढाड सेकेर आउनेको चार तोला सुन जफत हुन्छ । महिनैपिच्छे ओहोर दोहोर गर्नेले निर्बाध चार किलो भित्र्याउँछ । हाम्रा जान्ने भएर बुढो गोरुले गाईझैं पद ओगट्नेहरुको काम गर्ने प्रचलन कस्तो गजबको छ । बाटो बनाउनु परे इन्जिनियर आफैं, मन्दिर बनाउने डकर्मी आफैं, जान्ने भएपछि त सबैथोक आफैं ! आविष्कार गर्नु परे प्रयोगशालाको उपस्थिति आफ्नै, मैदानमा फुटबल गुडाउन भ्याउने आफैं, पाहुनालाई चिया पकाउन भान्छादेखि शौचालय उद्घाटनसम्म आफैं, हैन भ्याउन पनि कति भ्याको ? हुँदा हुँदा भ्रष्टचारीलाई छाता ओढाउने पनि आफैं । यी जान्ने सुन्नेहरुलाई हदबन्दी पनि नलाग्ने रहेछ, सबै जान्न पाइने ।

हुन सक्छ, आज सँगसँगै हिँडेको साथी भोलि नरहने सम्भावना । यसो भनेर जनताको पीरमर्का चटक्क बिर्सेर एकलै हिँड्न मिल्छ ? हो, विकासका काम फु–मन्त्रले गर्दैन, समय लाग्छ, योजना चाहिन्छ, क्रमबद्ध हुन्छ तर आगोले धुवाँ देखाउँछ, हावाले पात हल्लाउँछ भनेझैँ सङ्केतहरु खोइ ? वर्षाै पछाडि पारिएका जनताले कति पर्खिने हो ? कहिलेसम्म सम्भव छ धैर्य ? जताततै मृत्यु, भ्रष्टाचार, विषादी, अखाद्य तत्त्वको बाहुल्य ! हत्या हिंसा, लुटपाट, के–के हो के–के ? अझ नपुगेर कर्मचारी र ठेकेदारको मिलेमतोले दुगर्मका जनताका लागि लिएर हिँडेको खाद्यन्न बिच बाटैमा बिक्री गर्ने हिम्मत गरिन्छ, निर्मला कान्ड कोबाट संरक्षित छ ? वाइडबडी काण्ड पवित्र भैगो झिसमिस पारेर ! खै कुन चाहिँ त्यस्तो काम भो जसमा जनताले राहत महसुस गर्ने ? भावी योजना कुन छ जनताले चित्त बुझाउन मिल्ने ? कुरै बढी, कार्यकर्ताले लाएको पर्खालबाट बाहिर निस्कने आँटै नदेखाउने ! हैन यो घेराबन्दी कति धेरै मन परेको हो ?

होइन हौ ! गजब त के देखिने भने जताबाट हुन्छ पैसा चाहिने, कमिसन होस् वा घुस, पैसा नभई नहुने, भत्ता चाहिने, बाटाखर्च चाहिने, विधेयक ल्याउन दस्तुर चाहिने, फिर्ता गर्न चाहिने । न्याय माग्ने कसुर गरेका जनताले दस्तुर बुझाएपछि सनकका भरमा काम हुने, बेइमानी हुने बेइमान नभेटिने ! मोलमोलाइ मिले दाम पनि आउने, आसेपासेको शान पनि बढ्ने ! कति रमाइलो तरिका सबैतिर पैसाको रोजीखोजी, कस्तो गम्भीर परिवेश, लामखुट्टे पारा दस्तुरे चलन ! साहित्यका कुरा गर्ने हो भने परैदेखि नाक खुम्चिन्छ । सामाजिक कार्य व्यवस्थित र परिणाममूखी बनाउने कुरामा टाउको हल्लिन्छ, जाँगर निदाउँछ । कताबाट आउँछ ? के आउँछ ? कति आउँछ, कोमार्फत आउँछ ? ध्याउन्न जति आउँछमा छ ? आउँछ भनेर पक्का भएपछि घण्टी बज्छ र तोक लाउँछ । तोकादेश पालन गर्नेले फेरि सोध्छ, ‘मलाई के आउँछ ?’ नआई फाइल कसरी अघि बढ्छ ?

खै ! केही बुझिएन कति लागेको हो भोक ? गिट्टी, बालुवा पचाइदिने ? दायाँबायाँ, तलमाथि सबैतिरबाट आउनै पर्ने नआई न अघाउने, होइन कति सकेको हो खान पनि ? आफूले त खाए, खाए विना परिश्रम खाए, नैतिकता डढाएर खाए, पुर्खादेखिको भोक मेटाउने लोभले खाए, खाँदा खाँदा छोराछोरीलाई पनि परिश्रममा विश्वास गर्न नजान्ने बनाई बनाई खाए । कमिसनमा सीमित राखेर बाँच्न सिकाए । उनीहरुलाई काममा होइन, कमिसनमा रमाउने बनाए । वर्तमान सत्य यही हो । जनतालाई ठगे, देशलाई धोका दिए, आफू रमाए, आफ्नासँग रमाए ।

मल बिउमा भाग चाहिने, तरकारी फलफूलमा हिस्सा पाउनुपर्ने, आफ्नो देशमा पुल बनाउन, बाटो खन्न, एकातिरको नाका खोल्न अर्कोसँग सोध्ने बानीमा सुधार आएन, आउँदै आएन । न त छिमेकीले बनाएका बाँधले गाउँबस्ती डुबाउँदा यसो नगर भन्ने आँट देखियो । कस्ता लाछी मोराहरु अगाडि सर्छन् । आफ्नो दुनो सोझ्याउने बाहेक केही नसम्झने, सिन्को भाँच्ने ह्याउ नभाका नकचराका फेला परिएछ ।

देश भनेको खालि भूगोल होइन, यसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय मूल्य–मान्यता जोडिएको हुन्छ । परम्पराले तान्दै ल्याएको संस्कार, संस्कृति हुन्छ । मौलिक सभ्यता र भाषा साहित्य हुन्छ । ऐतिहासिक गौरव गाथाहरु हुन्छन् । सिङ्गै फरक तर विशिष्ट पहिचान दिएर विश्व समुदायमाझ चिनाउने अनुपम सम्पदा हुन्छन् । यस्तो विशेषता बोकेको देशमा छिमेकीहरुलाई कुस्ती खेल्न दिने गरी अखडा बनाउन लाज नमान्नेहरुको भीडले नेपाल आमालाई थिलोथिलो पारे । यस्तो भयाबह वर्तमान अवस्था राजनीतिक वृत्तले समयमा चेतेन भने मुलुक झन् ठुलो समस्यामा पर्ने दुश्चक्र नजिकै देखिएको छ । यसर्थ कुुशल कूटनीतिक अभ्यासबाट छिमेकीहरुसँगको मित्रता कायम राख्दै आफ्नो देशको स्वाभिमान जोगाउने साहस र इमान सर्वसाधारण जनताले थाहा पाउने गरी व्यवहारमा देखिनु जरुरी छ । यस्तो गम्भीर विषय राष्ट्रियताको सबालमा देशका सबै राजनीतिक पार्टीहरुमा भित्र कतै मुलुकको रक्षार्थ भित्र कतै साहस र इमान छ भने जनता देख्न चाहन्छन् अबिलम्ब देखाउने आँट गरियोस् । ‘अस्तु’