धर्मराज–सावित्री थापा लोकसाहित्य–संस्कृति पुरस्कार डा. शर्मालाई

मुख्य समाचार साहित्य

काठमाडौँ, ३० असार, धर्मराज–सावित्री थापा लोकसाहित्य–संस्कृति पुरस्कार साहित्यकार डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै धर्मराज–सावित्री थापा लोकसाहित्य–संस्कृति पुरस्कार २०७५ को घोषणा गरेको हो ।

”नेपाली लोकसाहित्य र संस्कृतिको श्रीवृद्धिमा निरन्तर मनसा, कर्मणा, वाचा समर्प्रित भई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रत्रमा विभिन्न माध्यमबाट विशेष योगदान गरेबापत यथार्थवादी, सृजनात्मक झर्रो भाषिक प्रयोग गर्ने साहित्य साधक डा. तारानाथ शर्माज्यूलाई वर्ष २०७५ को ‘धर्मराज–सावित्री थापा लोकसाहित्य–संस्कृति पुरस्कार’ प्रदान गरिने छ” जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानका अध्यक्ष मदनराज थापा र प्रतिभा छनौट सदस्यहरुको सिफारिश अनुसार यो पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । छनौट भएका स्रष्टालाई ५०,००० नगद र सम्मान पत्रसहित पुरस्कृत गरिने छ ।

यो पुरस्कार यहि २०७६ साल श्रावण १ गते, बुधबार, प्रज्ञा प्रतिष्ठानको प्रवचनकक्षमा दिनको १:४५ बजे वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सु-सम्पन्न हुने विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष थापाले जानकारी दिए । नेपाली लोकवाङ्मयको क्षेत्रमा स्थापित यो अति महत्वपूर्ण पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको छ ।