४६ वर्षे महालतीको २३ वर्षे सेवा अनुभव

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

साविक खिजीचण्डेश्वरी– २ गैराटोल घर भएकी अनमी महालती सुनुवारले अस्थायी र स्थायी भएर २३ वर्षसम्म काम गरेकी छिन् । काठमाडौँ तथा ओखलढुंगा जिल्लाको विभिन्न स्वास्थ्य संस्थामा गरेर २० हजार बढी सुत्केरी गराएको उनको भनाई छ । २ देखि ३ सय आमाहरुलाई घरमै पुगेर सुत्केरी गराउने बेला उनले सेवा गरिन् ।

द्वन्द्वकालिन समयमा चन्दा आतंकले काठमाडौँमा गएर काम गरेको समयमा उनले धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरिन् । स्वास्थ्यसंस्थामा प्रयोग हुने नयाँ तथा आधुनिक मेसिन प्रयोग गर्ने सीप पनि उनले काठमाडौँमा सिकिन् । यसैकारणले खिजीचण्डेश्वरीमा उनले गर्भवती आमाहरुको लागि अतिआवश्यक भिडियो एक्सरे सेवा संचालनका लागि विशेष पहल गरेर सेवा सञ्चालन गराउनमा योगदान दिइन् ।

वि.सं. २०५३ सालबाट काम सुरु गरेकी सुनुवारले सुत्केरी आमाहरुको पीडादेखि पैसा नभएका विरामीलाई व्यक्तिगत रुपमै रकम दिएर सहयोग गरी जीवन बचाउन सफल भएको धेरै उदाहरण रहेको भन्दै उनले थुप्रै चुनौति र सफलताको पलहरु बिताएको सुनाइन् । आफूले एसविए, परिवार नियोजन, अल्ट्रासाउण्ड तथा डेण्टल तालिम लिएको उनले जानकारी दिइन् ।

पहिलेको अवस्था भन्दा अहिले स्वास्थ्य क्षेत्रमा क्रमशः सुधार आएको उनको अनुभव छ । विकटमा बाटो तथा साधनकै अभावले आँखै अगाडि विरामीको मृत्यु हेर्नुको विकल्प नरहेको यस क्षेत्रमा अहिले सडक विस्तार भएको, पालिकाले एम्बुलेन्स खरिद गरेको, स्वास्थ्य संस्थामा आवश्यक औषधिको सहज ढुवानी, स्वास्थ्य केन्द्रको दरबन्दी आदि कारणले पनि सहजता आएको बताइन् । तर अनमीले विशेष गरी सुत्केरीको केसहरु हेर्ने गरेकोमा खिजीदेम्बामा अझै धेरै चुनौति रहेको उनको भनाई छ ।

तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मीको अभाव, एमबीविएस डक्टर, ल्याव, फार्मेसीसहितको सुविधासम्पन्न अस्पताल नहुँदा साह्रै समस्या हुने गरेको छ । ठुला कुनै दुर्घटना, सुत्केरी आमालाई कुनै खतरापूर्ण अवस्था देखिएमा हेलिकप्टरको विकल्प छैन । खिजीदेम्बाबासीको स्वास्थ्य समृद्धिका लागि वडा तथा गाउँपालिकाको पहलकदमी जरुरी रहेको छ ।

स्वस्थ नागरिक र स्वास्थ समाज बनाउन हरेक स्वास्थ्यकर्मीको मात्र जिम्मेवारी नभई राज्यको दायित्व रहेको भन्दै सबै सचेत हुन आब्हान गरिन् । हाल ४६ वर्ष पुगेकी सुनुवारले उमेर हद्ले भ्याएसम्म विरामीको सेवा नियमित गरिरहने बताइन् । सुनुवार हाल चण्डेश्वरी स्वास्थ्य चौकीमा कार्यरत छिन् ।

उनलाई खिजीदेम्बा गाउँपालिकाले हालै सम्मान गरेको छ । उत्कृष्ट कार्य गरेको भन्दै गाउँपालिकाको स्वास्थ्य शाखाबाट सिफारिस भई आए बमोजिम २० हजार नगदसहित सम्मान गरेको छ ।