चिनिया राष्ट्रपतिको नेपाल भ्रमण निश्चित, फेब्रुअरीसम्ममा आउने

मुख्य समाचार विश्व विषेश समाचार

काठमाडौँ, ३० असार, २०७६ । चिनिया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण तय भएको छ । चिनिया कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको गोप्य स्रोतका अनुसार चिनिया राष्ट्रपति सी अगामी फेब्रअरीसम्ममा नेपालको भ्रमणमा आउने कार्यक्रम तय भएको हो ।

स्रोतले भन्यो, ‘राष्ट्रपति सीले यही अगष्टदेखि आगामी फेब्रअरी भित्रमा नेपाल भ्रमण गर्नुहुनेछ ।’ लामो समयदेखि राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी थियो । तर पार्टीले यो पटक भने निर्णय गरिसकेको स्रोतले बतायो ।

चिनिया राष्ट्रपति सीले नेपाल र भारतको एकैपटक भ्रमण गर्ने भएका छन् । स्रोतका अनुसार राष्ट्रपति सी पहिले नेपाल आउने र नेपाल हुुँदै भारत जाने कार्यक्रम रहेको छ । राष्ट्रपति सी नेपालमा एक वा दुई दिन बस्ने जनाइएको छ । आन्तरिक तयारी र सुरक्षा अवस्था हेरेर नेपालको बसाई लम्बिने वा छोटिने केही दिनमा निर्णय हुने स्रोतले जानकारी दियो ।

नेपाल भ्रमणको क्रममा राष्ट्रपति सीले उच्च स्तरीय भेटवार्ता गर्ने र केही आपसी सहयोग तथा परियोजनामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि बताइएको छ । के–के परियोजनामा सम्झौता हुने भन्ने विषय खुलाइएको छैन । भ्रमणको तालिका पनि केही दिन भित्र सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले जानकारी दियो ।

तस्विर: फायल