इक्यान मेलामा विद्यार्थीको भीड

मुख्य समाचार शिक्षा

काठमाडौं, २८ असार । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको १३औं इक्यान मेलामा विद्यार्थीको भीड लागेको छ । विभिन्न देशका कलेज तथा स्वदेशकै कलेज र कन्सल्टेन्सीको सहभागिता रहेको मेलामा नेपाली विद्यार्थीको भीड लागेको हो ।

विदेशी भूमिमा पढ्न जानका लागि सही गन्तव्यको खोजीमा रहेका विद्यार्थीकालागि विदेशी विद्यालय तथा कलेज छनौटमा मेलाले सहयोग गर्दै आएको छ । मेलामा खासगरी, भारत, बंगलादेश, चाइना, जापान र अमेरिकाका स्कुल तथा कलेजले सहभागिता जनाएका छन् ।

यस्तै, विभिन्न कन्सल्टेन्सीहरुको पनि मेलामा सहभागिता रहेको छ । जसबाट उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित भएका छन् । इक्यान मेलामा जापान, अमेरिका, युरोप भारत र बंगलादेश जान विद्यार्थीलाई सहयोग गर्ने विभिन्न कन्सल्टेन्सी छन् ।

विगत दुई महिनादेखि उच्च शिक्षाका लागि विदेश जान चाहेका चितवन घर भई हाल बालुवाटार बस्दै आएका गौरव बस्नेतले मेलाले आफूसहित धेरै विद्यार्थी साथीलाई सहयोग गरेको बताए । उनले भने, ‘विगत लामो समयदेखि पढ्न विदेश जाने सोचमा रहेको थिएँ । त्यतिबेला उत्कृष्ट माध्यम नपाए पनि मेलाले सहयोग गरेको छ ।’ एकै छानामुनि धेरै विद्यालय तथा विदेश जान सहयोग गर्ने कन्सल्टेन्सी रहेकाले गन्तव्य छनौटमा सहज भएको उनको भनाई थियो ।

यस्तै, काठमाडौं बौद्धका दिनेश राईले इक्यान मेलाले सबै विदेशी विद्यालय र कलेजका साथै स्वदेशी कन्सल्टेन्सी छान्ने अवसर दिलाएको बताए । उनी मेलाले कन्सल्टेन्सी छान्दै हिड्न पर्ने बाध्यतालाई कम गरेको बताउँछन् ।

मेलाको आयोजक शैक्षिक परामर्श संघ (इक्यान) ले मेला आयोजना भएको तीन दिनमा करिब ५० हजार विद्यार्थीले मेलाको अवलोकन गरेको बताएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष मेलामा धेरै विद्यार्थीले अवलोकन गरेको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए ।