दुदिलाभाटीको शिवालाय मन्दिर प्रकरणः पुजारी भनिएका सुवेदी निर्दोष

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

बागलुङ सम्वाददाता, २८ असार, २०७६ । गलकोट नगरपालिका–१ दुदिलाभाटीबजार स्थित शिवालय मन्दिरका पुजारी भनिएका बलाराम सुवेदी निर्दोेष देखिएका छन् । सो मन्दिरमा सुनार थरका दुई जना बालकलाई दलित भएकै कारण वर्तबन्ध गर्न नदिएको भनेर उनलाई आरोप लगाइएको थियो । तर, केही दिन अगाडि मात्र दुदिलाभाटीमा भएको एक भेलाले बलाराम सुवेदी निर्दोष भएको संकेत दिएको छ ।

गत आइतबार स्थानीय १२ वर्षीय जुम्ल्याहा भाइहरू अर्जुन सुनार र कर्ण बहादुर सुनारलाई विशेष कारणले सो मन्दिरमा वर्तबन्ध गर्न लगिएको थियो । पुजारी भनिएका सुवेदीले दलित भएकै कारणले मन्दिरको ढोका नै नखोलिदिएको पीडित पक्षको भनाइ भए तापनि त्यो सत्य नभएको देखिएको छ ।

गोप्य सूचनाको आधारमा विभिन्न अनलाइन सञ्चार माध्यमले यस घटनालाई बाहिर ल्याएका थिए । उक्त समाचार प्रकाशन भएपछि गत मंगलबार दुई पक्षबीच प्रारम्भिक छलफल भएको थियो । सो छलफलका आधारमा सुवेदी निर्दोष रहेको पाइएको हो । साथै, सुवेदीले एक वर्ष पहिले नै उक्त मन्दिरको पुजारीको जिम्मेवारी छोडेको स्थानीयको भनाइ छ ।

ती दुई भाइका बाबु तारा सुनारको एक हप्ता अगाडि कुवेतमा मृत्यु भएको थियो । अब केही दिनमा उनको शव नेपाल आउँदैछ । छोराहरुले बाबुको क्रिया गर्न वर्तबन्ध गर्नुपर्ने धार्मिक मान्यता छ । सोही मान्यताअनुसार ती दुई भाइलाई हजुरबुबा देवबहादुर सुनार, मन प्रसाद सुनार, गनप्रसाद सुनार, सोमबहादुर सुनार, हिरा खत्री, पदम काउचाले वर्तबन्ध गरिदिन उक्त मन्दिरमा लिएर गएका थिए । तर, त्यो मन्दिरमा वर्तबन्ध नगरेर गाईको दाम्लोमा बाधेर उनीहरुको वर्तबन्ध गरिएको थियो ।
हजुरबुबा देवबहादुरले हामीलाई पहिले भनेका थिए, ‘नातीहरुलाई लिएर मन्दिरमा गएका थियौं । तर, दलित भन्दै मन्दिरको ढोका खोल्दिएनन् ।’ तर, उनी बलराम सुवेदीसँग साँचो माग्ने बेलामा अन्तै गएका रहेछन् । उनले हामीलाई अन्य व्यक्तिले भनेको आधारमा यस्तो सूचना दिएका रहेछन् ।

तर, भेलामा साँचो लिन गएका व्यक्तिहरुले नै बलाराम सुवेदीले दलित भनेर मन्दिर नखोलिदिएको भन्ने हल्ला झुटो भएको दावी गरे । त्यसपछि प्रमाण भनिएका व्यक्तिहरुको भनाईको आधारमा नै सुवेदी निर्दोष देखिएका हुन् ।

भेलामा सुवेदीले भने, ‘मैले दलित भनेर मन्दिरको ढोका नखोलेको होइन । मसँग मन्दिरको साँचो पनि छैन । यस्तो अवस्थामा मन्दिरमा वर्तबन्ध गर्न हुदैन भन्दै जनैसँगै बैकल्पिक उपाय दिएर उनीहरुलाई पठाएको हो ।’ उनका अनुसार मान्छे मरेर जुठो परेको अवस्थामा वर्तबन्ध गर्दाखेरी मन्दिरमा गर्न हुँदैन ।’

लगभग ५ वर्ष अघि स्थानीय निलबहादुर खड्काले आफ्नै लगानीमा सो मन्दिर निर्माण गरेर समाजलाई हस्तान्तरण गरेका थिए । दुदिलाभाटीका स्थानीयको सल्लाहमा नै बलाराम सुवेदीलाई सो मन्दिरको पुजारी बनाइएको हो । हाल स्थानीय धन बहादुर खड्काले उक्त मन्दिर साँचो राख्ने गरेको भेलाले पुष्टी गरेको छ ।