खिजीदेम्बामा पहिरोले घर भत्कायो

मुख्य समाचार विषेश समाचार समाज

ओखलढुंगा, २७ असार, २०७६ । खिजीफलाटे बजारमा पहिरोले एउटा नयाँ घर पूर्ण रुपमा भत्किदाँ करिब २५ लाखको क्षति भएको छ । शुक्रबार बिहान १० बजे खिजीदेम्बा गाउँपालिका वडा नं. ५ खिजीफलाटे बजारमा रहेको धन बहादुर तामाङको ३ तले ढुंगा माटोले बनेको नयाँ घर भत्किएको हो ।

अविरल वर्षाका कारण माटो गल्दै गएपछि घर पछाडिको भाग खस्दा घर पूर्ण रुपमा भत्किएको हो । साविक रगनी गाविस वडा नं. ८ नस्पुमा बस्दै आएका तामाङले करिब २५ लाख लागतमा नयाँ घर बनाएका थिए । उनी नयाँ घर प्रवेश चाडै गर्ने तयारीमा रहेको उनका छिमेकी नरमान तामाङले बताएका छन् ।

नयाँ घर भत्किएर क्षति भए पनि घर प्रवेश नभएकाले कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिजीफलाटेले जनाएको छ । प्रहरीले भत्केको घर नजिक रहेको छिमेकीलाई सर्तक गराएको छ । वर्षा निरन्तर भईरहे र पहिरोको जोखिम भएको खण्डमा सुरक्षित क्षेत्रमा सर्न समेत प्रहरीले स्थानीयलाई आग्रह गरेको छ ।