इक्यान शैक्षिक मेला आउन विद्यार्थीलाई पाँच रुटमा निःशुल्क गाडी (रुटसहित)

मुख्य समाचार शिक्षा

काठमाडौं, २६ असार, २०७६ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलामा विद्यार्थीहरुलाई घरदेखि मेलासम्म आउनका लागि निःशुल्क गाडीको सेवा उपलब्ध गराएको छ । इक्यानका महासचिव शेषराज भट्टराईका अनुसार मेलाका ४ वटै दिन विभिन्न रुटबाट आउने विद्यार्थीलाई लक्षित गरी निःशुल्क गाडीको व्यवस्था गरिएको हो ।

भट्टराईका अनुसार ५ वटा रुटमा निःशुल्क गाडीका व्यवस्था गरिएको छ । जसमा पहिलो रुट अन्तर्गत बुढानिलकण्ठ–चक्रपथ–सुकेधारा–गोपिकृष्ण हल र चावहिल हुँदै भृकुटीमण्डपमा निःशुल्क गाडी चल्नेछन ।

त्यस्तै, दोस्रो रुट अन्तर्गत धुलिखेल–बनेपा–जगाती–कोटेश्वर हुँदै सिनामंगल– पुरानोबानेश्वर–अनामनगर र भृकुटीमण्डप आउनेछ ।

इक्यानका अनुसार तेस्रो रुट अन्तर्गत गोदाबरी–सातदोबाटो–लगनखेल–थापाथली–रामशाहपथ–पुतलीसडक हुँदै भृकुटीमण्डप आइपुग्नेछ । भने चौथो रुट अन्तर्गत कीर्तिपुर–सातदोबाटो–कुमारीपाटी–लगनखेल–थापाथली हुँदै भृकुटीमण्डप मेला स्थलमा आउनेछ ।

साथै पाँचौ रुट थानकोट–नैकाप–कलंकी–बल्खु–चक्रपथ–नयाँबजार–गोंगबु हुँदै भृकुटीमण्डप आउनेछ ।

मेला अवलोकन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरुले फेसबुक पेजको म्यासेजमा आफ्नो सम्पर्क नम्बर रजिष्ट्रेशन गर्नुपर्छ । रजिष्ट्रेशनपछि विद्यार्थीलाई फोनमार्फत सम्पर्क गरी रुटअनुसार मेला स्थलसम्म विद्यार्थी ल्याउने इक्यानले जानकारी दिएको छ ।

साथै मेलामा लक्की ड्रकोसमेत व्यवस्था गरिएको महासचिव भट्टराईले जानकारी दिए । जस अन्तर्गत विद्यार्थीले मोटरबाइक, ल्यापटप र मोबाइल जित्न सक्नेछन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी आयोजित मेलामा विभिन्न देशका विश्वविद्यालय र कलेजका प्रतिनिधि तथा स्वदेशका १५० भन्दा बढी एजुकेशन कन्सलटेन्सीको सहभागिता छ ।

असार २६ गतेदेखि राजधानीमा आयोजित मेला ४ दिनसम्म चल्नेछ ।