इक्यान शैक्षिक मेलाः पहिलो दिन मै १० हजारले गरे अवलोकन

मुख्य समाचार

काठमाडौं, २६ असार २०७६ । उच्च शिक्षाका लागि अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा सुरु भएको १३ औं बृहत इक्यान शैक्षिक मेलामा पहिलो दिन नै उत्साहजनक सहभागिता देखिएको छ ।

मेलाका संयोजक दीपकराज भुसालका अनुसार पहिलो दिन १० हजार जना विद्यार्थी तथा अभिभावकले मेला अवलोकन गरी वैदेशिक शिक्षासम्बन्धी जानकारी लिएका छन् ।

मेलामा ३०० भन्दा बढी स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी उपलब्ध गराइएको भुसालले बताए । भोलिबाट अवलोकनकर्ताहरुको सहभागिता अझ बढ्ने उनले बताए । ४ दिने मेलामा १ लाख ५० हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

मेलाका स्टलहरु आकर्षक ढंगले सजाइएका छन् भने अवलोकनकर्ताको सुविधाकालागि फ्रि वाइफाई तथा फ्रि बस सेवाको पनि व्यवस्था गरिएको भुसालले बताए ।

असार २९ गते आइतबारसम्म चल्ने मेलामा चार वटै दिन रक्तदान तथा प्राथमिक उपचारको व्यवस्थासमेत गरिएको छ । साथै मेलामा नेपाल फोटो पत्रकार महासंघले सुन्दर नेपाल शीर्षकको फोटो प्रदर्शनी गर्नेछ ।