किसानलाई पो थाहा हुन्छ — डिल्लीराज अर्याल

कृषि मुख्य समाचार विचार

मैले धेरै पहिले कतै पढेको शेलीको यो भनाइ, मेरो पहिलो पुस्तक ‘नेपालमै जान्छु म’ मा पनि उद्धरण गरेर राखेको थिएँ । आज फेरि पनि दोहोर्याउन मन लाग्यो र दोहोर्याएँ – “संसारको सबैभन्दा ठूलो कलाकार किसान हो”। अझ केही छ मैले यत्ति नै उद्धृत गरेको थिएँ त्यो पुस्तकमा शायद। त्यसको व्याख्या यस्तो हुन सक्छ – जसले सुख्खा बीउ रोपेर हराभरा बोट बनाउँछ र फेरि फलाउँछ।

अन्यत्र त यो भनाइको, त्यो कलाकारको महत्त्व आज पनि छ, अझ पनि छ। हामी भने यस्ता कुरा सुन्न छाडेर विकासका दौडमा दौड्यौं । विकासमा समर्पित भएर लाग्यौं र देश विकास गर्दै गयौं । हो, हामी यति विकास प्रेमी भयौं कि धान रोपेका खेतमा डोजर लगाउने भयौं । लहलह भएका मकै बालीमा बाटो खनेर मोटर दगुराउने भयौं । त्यो पनि अर्काले सहयोगमा दिएका, अर्काकै मुलुकबाट किनेर ल्याएका । त्यसैले हाम्रो राजनीति, हाम्रो विकास संसारकै नमूना बन्दैछ, बनेको छ।

हामीले किसानलाई मात्र बिर्सेनौं, खेतीपाती नै बिर्स्यौं। बिर्स्यौं मात्र होइन, बिर्सन सिकायौं, लगायौं । कृषिलाई कुनै मह्त्त्व नदिने किनेर ल्याएका विषादी खान पाउँदा पनि दङ्ग पर्ने भयौं हामी। किसानकै सन्तति भएर पनि हामी माटो खन्ने, जोत्ने भएनौं, बेच्नै भयौं।

मेरा एकजना गाउँले (हामीले काका भन्थ्यौं) आफ्ना छोरालाई भन्ने गर्थै – ‘यो सिल्पटले खेती गरेर खाने भएन। माटो बेचेर खाने भयो।‘ आज देशै सिल्पटका हातमा गए जस्तो लाग्न थालेको छ। तिनको आशीर्वाद पाएका हाम्रो सबैभन्दा ठूलो उद्योग, देशको आयश्रोत त्यही माटो बेच्ने काम भैरहेछ। जसरी बेचे पनि भयो। हिजो त्यसलाई गाली मानिन्यो ल, चिन्ताको विषय मानिन्यो ल। किसान हुनुलाई गौरवको विषय मानिन्थ्यो ।

“उत्तम खेती मध्यम ब्यापार, निर्घृणी चाकरी सबैको पुच्छर” जस्ता भनाइहरू सुनिन्थे । जतिससुकै सम्पन्न भए पनि खेतीपाती गर्ने परम्परा बसेको थियो जसले परनिर्भरतालाई एकदमै पर राख्थ्यो । धान मकै कोदो फापर मात्र होइन, जौ, गहुँ, जुनेलो, तोरी, सर्स्यूं, आलु, केराउ, सिमी बोडी लगायतका अन्न तरकारी, तेल लगायतका चिज अदुवा, बेसार जस्ता मसलाको उत्पादन आफ्नै माटोमा हुन्थ्यो, गरिन्र्थ्यो। किन्न र खोज्न पर्ने भनेको नुन, अलिपछिको मट्टितेल जस्ता कुरा मात्र हुन्थे ।

सजिवनका बिया बट्याएर सिन्कामा उनेर बाल्ने चलन त मैले राम्रै जानें। आफैले बट्याएर, उनेर त्यसकै उज्यालोमा पढें पनि। हामी जति सौखिन हुँदै गयौं उत्ति उपभोगका साधन खोज्न थाल्यौँ, जति खोज्न थाल्यौं त्यत्ति उब्जाउनेतिरबाट पछाडि फर्कँदै गयौं। आफै उब्जेका सजिवनको प्रयोगको झन् कुरै भएन।

अरूले उब्जाउँदै, बनाउँदै, पठाउँदै गर्ने भएपछि र त्यसमा अभ्यस्त भएपछि आफूले दु:ख गर्ने कुरो पनि भएन। फरक के भयो भने हामी किनेर उपभोग गर्ने, उब्जाउन दु:ख मान्ने, उपभोग मात्र गर्ने हुँदै गयौं। अरूले श्रम गरे, उब्जाए, पठाए र कमाउँदै गए। ब्यापार बढाउँदै गए, सम्पन्न बन्दै गए। हामी किन्दै उपभोग गर्दै जाने हुँदा हाम्रो ब्यापार घाटा बढ्दै गयो। आर्थिक अवस्था बिग्रँदै गयो, गरीब हुँदै गयौं।

मान्छेहरू भन्छन्- ‘बनेकै प्रयोग गर्नलाई हो। पाइएका चिज प्रयोग गर्न त पर्छ नि!’ नयाँ नयाँ साधनहरू बन्दै गएका छन्, उत्पादनको शृङ्खला बढ्दो छ। तिनको प्रयोग हामीले गर्ने त हो नि। प्रयोग नगर्ने भन्ने हो र? तिनको प्रयोग गर्नु नराम्रो हो र? होइन, तर उब्जाउन नखोज्नु, उब्जाउने पुरानो प्रविधि भुल्नु, त्यसलाई उपेक्षा गर्नु र नयाँ प्रविधिको खोज नगर्नु नराम्रो हो।

यसरी अरूको सम्पन्नता हाम्रो विपन्नता बढ्दै गयो तर हामीले त्यसलाई कहिल्यै ख्याल गरेनौं, हेरेनौं । यसबारे किन यसो भइराखेको छ? भनेर कहिल्यै सोचेनौं । विश्लेषण गर्ने र अघि बढ्नको लागि बाटो बनाउने त कुरै भएन । कतिसम्म भयौँ भने त्यही उत्पादन गर्ने किसानलाई, बाबुबाजेले अपनाएको कृषि पेशालाई त गन्नै छाड्यौं। त्यो पेशा मन पर्नै छाड्यो।

पहिलेको सबै भन्दा महत्त्वपूर्ण पक्ष भनेकै सन्तोष थियो, शुद्ध र ताजा खानेकुरा थियो। श्रम र सादगी थियो, सहकार्य र स्वास्थ्य थियो । मैले सुनें र भोगें पनि । भोगेर त्यसको बारेमा सोचें पनि । त्यो अवस्था र आम मान्छेमा तिनको प्रभाव, तिनको गौरवलाई मैले यसरी सुनें र हेरें ।
“गाई-भैंसीको गोरस, कोदो-मकैको खाना,
ढुङ्गा माटाको घर, खरको छाना,
सरर्र हावा धूपी फूलको बासना
छालाको जुत्ता, सूतीका वसना
कपासको सिरक कपासकै डसना
यति चिज पाए के स्वर्ग जपना?”

तिनले त यस्तै सोचे, श्रम गरे र यस मुलुकलाई स्वर्गकै सराबरीमा पुर्या,ए र यस्तैमा रमाए। हर कुरामा खेतीपाती अगाडि आयो। खेतीबालकै कुरा आयो। कति खेत छ? कति बारी छ? कस्ता खेत छन् ? कस्ता घर छन्? भनेरै खोजी गरे। तिनकै महिमा गाए। सोध्ने, खोज्ने र खेल्ने विषय नै खेत र खेती रह्यो।

चाहे तीज गीत होस् चाहे सँगिनी। चाहे असारे होस् चाहे दाईँ गीत, सबैमा खेतीका, खेतका, घरका, बारीका कुराले कतै न कतै छोयो। श्रम गीतका कुरा छोडौं, पर्व गीतमा पनि उत्पादनका कुरा उत्पादनसित सम्बन्धित कुरा कुनै न कुनै रूपमा आए। त्यसैले उब्जाउनुमा गौरवबोध रह्यो। उत्पादन गर्ने कुरामा लाज भएन, श्रम गर्न कोही लजाएन, हिच्किचाएन। किसानलाई कसैले हेय देखेन, मानेन।

ठूलाबडा भनिनेहरू समेत कोदालो, कोदाली बोकेर बारी- खेतमा जान लाज मानेनन्, हिच्किचाएनन् । बरू जागिर खान जान हिच्किचाए। कतिले त लाज मानेर घर फर्केर पनि आए। कमाउन गएकाले पनि कमाएर ल्याएको धनले खेत किने, बारी किने। गोरू किनेर खेतीमा लागे। भैंसी किने, दुहेर दूध, घिउ खाए। त्यसमै आनन्द माने। बारीमा छरेका मकैमा निस्केको पोके, गहुँमा लागेको पोके चिने र तिनलाई अलग्याउन सिके तर आज ती सबै कुरा हराउँदै जान थालेका छन्।

बारी-खेतमा खेती छैन। गाउँगाउँमा बाँदर दगुर्न थालेका छन्। घरहरूमा खरका छाना छैनन्, माटो ढुङ्गाका भित्ता छैनन्। गोठमा गाई भैंसी छैनन्। पोका दूध खान पाए दङ्ग पर्ने जमाना आएको छ। केही किसानले कताकति मकै गहुँ लगाए पनि तिनमा देखिने पोके र मकै, गहुँ चिन्न छोडे। बारीभरी पोकै र थारा बोट देखिन थालेका छन्।

पोकेले मकै उब्जाउन्न। गहुँ उब्जाउन्न। नछिप्पिँदै पोलेरसम्म खान मिल्ने भए पनि पोके छिप्पिएपछि कालो बनाउने काममा मात्र आउँछ। त्यसैले जानेर त्यसको प्रयोग गर्नेले छिप्पिन दिनु हुँदैन तर हामीले छिप्पिन दिने गल्ती गरेका छौँ। अहिले हाम्रा बारीमा गहुँ, मकै भन्दा धेरै पोके उब्जिरहेका छन्। त्यसको पत्तो हामीले पाएकै छैनौँ किनकि ननङ्ग्याउँदासम्म तिनलाई चिन्न मुश्किल हुन्छ। थारोलाई त देखेर चिनिन्छ तर पोकेलाई चिन्न नङ्ग्याउनै पर्छ। हामीले मकै बिग्रला, मासिएला भनेर मकैको मायाले पोके जोगाएका छौं र त बारी पोकेले भरिँदै जान थालेको छ। अज्ञानले थिचिएका हामी कति डराउँछौं ? र डरैडरले मास्नुपर्ने कुरालाई जोगाउँछौं, जोगाउनुपर्ने कुरालाई मास्छौं।

मकै र पोकेको रूपरँग सबै उस्तै हुने हुनाले अपरिपक्वले नचिन्नु स्वाभाविकै हो। यहाँ त पाका भनिनेले पनि नचिन्ने अवस्था आएको छ। चिन्न नखोज्ने अभ्यास भएको छ। चिन्नु र ख्याल गर्नुपर्ने पाका किसानले नै हो तर आजभोलि धेरैजसो पाका भनिएकाहरूले समेत तिनैलाई झोत्ता, पोटके बनाएर सुलीमा, खरैमा राख्ने गरेको देख्छु। बीउ बनाउन अलग्याएको हुलमा मिसाएको देख्छु। बीउ बनाउन त के खान,पनि त्यो बुढो भएको पोके काम लाग्दैन। पोकेबाट मकै त के पोके पनि बन्दैन, उब्जन्न। पोके, गहुँ मकैबाटै बन्ने गर्छ, तर पोकेबाट गहुँ मकै बन्दैन उब्जन्न। त्यसैले मकै गहुँकालागि असल बीउ छान्नैपर्छ।

पोकेमकै भन्दै त्यसमै रमाइरहने हो भने बारीका मकै घाटामा परिरहन्छन्। मकै सिद्धिँदै जान सक्छ भन्ने कुरा किसानलाई नै थाहा हुने कुरा हो। किसान पाको भए तिनलाई यस्ता कुरा सबै थाहा हुन्छ, भएनन् भने बारी त पोकेले नै खान्छ। पोकेकै हुन्छ।

एकातिर बारी बाँझै अर्कातिर बाँदरको जग्जगी। एकातिर मकै गहुँ खेतीमा कमी, अर्कातिर भएको खेतीमा पनि पोके धेरै भए, हुँदै गए भने हाम्रो हालत कस्तो होला ? यो अवस्थामा किसानको ठूलो महत्त्व छ तर किसान भने पाको हुनैपर्छ। नक्कली किसान त तिनै माटो बेचेर खाने कोटिका हुनेछन्, भैरहेछन् । यसकै सङ्केत होला- हाम्रा गाउँले किसानले छोरालाई सचेत बनाउन प्रयोग गर्ने गरेको ‘माटो बेचेर खालास्’।

यी सबै कुरा थाहा हुने भनेको किसानलाई नै हो, किसानले चेत गुमाए भने, ख्याल राखेनन् भने ! केही बाँकी रहन्न। केही बाँकी रहेन भने कोही बाँकी नरहने अवस्था आउन सक्छ।

तस्विर: कञ्चनपुरको बेलौरी नगरपालिकाका किसान जिरो टिलेज प्रविधिमा लगाएको गहुँ देखाउँदै । नौलो प्रविधिको प्रयोग गरी यहाँका किसानले गहुँखेती गरेका छन् । राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस