काठमाडौँमा इन्जिनियरिङ एजुकेशन फेयर सुरु

मुख्य समाचार विषेश समाचार शिक्षा

काठमाडौँ, २५ असार, २०७६ । इन्जिनियरिङ कलेज एसोशिएसन नेपाल र पिइए एशोसिएसन प्रा.लि.को संयुक्त आयोजनामा काठमाडौँमा इन्जिनियरिङ एजुकेशन फेयर २०१९ सुरु भएको छ । कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बुधबारबाट फेयर सुरु भएको हो ।

मेलालाई नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष डिल्ली रमण निरौलाले उद्घाटन गरे । मेलाको उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष निरौलाले डिग्री जहाँबाट हासिल गरे पनि नेपाललाई कुनै न कुनै दिन योगदान गर्नु पर्ने बताए । आफूले विदेशमा पढ्दा भोगेको दुःखको दृष्टान्त दिँदै निरौलाले विदेशी भूमिमा मात्रै राम्रो अध्ययन हुन्छ भन्ने अवस्था अब नरहेको बताए । अध्यक्ष निरौलाले विद्यार्थीहरूलाई नेपालमै बसेर पनि राम्रो अध्ययन गर्न सकिने सुझाव दिए ।

कार्यक्रममा त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडीन तथा इन्जिनियर एशोसिएसनका अध्यक्ष डा. त्रिरत्न बज्राचार्यलगायतले आ–आफ्नो अनुभव सेयर गरेका थिए । इन्जिनियरिङ कलेज एशोसिएसन नेपालका अध्यक्ष लक्ष्मण पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा एशोसिएसनका महासचिव रमेश श्रेष्ठले अतिथिलाई स्वागत गरेका थिए ।

कार्यक्रमको दोस्रो सेसन अर्थात टेक्निकल सेसनमा नेपाल पुलिसका डिआइजी डा. राजीव सुब्बा, नेपाल टेलिकमका महाप्रबन्धक इ. डिल्ली राम अधिकारी, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, मोटिभेशनल स्पिकर रमेश नेपाली लागायतले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

दुई दिनसम्म चल्ने मेलामा प्लस टु सकेर इन्जिनियरिङको इन्ट्रान्स प्रिपेयरिङ् गर्दै गरेका विद्यार्थीहरुको ठुलो संख्यामा विभिन्न सिफ्टमा उपस्थिति रहेको थियो । सरोज घिमिरेले संचालन गरेको सो कार्यक्रम निक्कै रोचक बनेको थियो ।