खैरो हिरोइनसहित दुई जना पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

टीकापुर, २५ असार, २०७६ । टीकापुर नगरपालिका–७ सुनाहाँफाँटाबाट प्रहरीले खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका–७ मोतिनगरका सुमन बुढाक्षेत्री (२०) र टीकापुर नगरपालिका–१ ब्लक नं. २९ का नवीन भण्डारी (२०) रहेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मनोहर भट्टका अनुसार उनीहरुको साथबाट २ ग्राम ९ सय मिलिग्राम खैरोहिरोइन बरामद भएको छ । प्रहरीको गस्ती टोलीले उनीहरुलाई भारततर्फबाट से ४ प ९५९५ नम्बरको मोटरसाइकल चढेर आईरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद भएको हो ।

पक्राउ परेका मध्ये बुढाक्षेत्रीले चलाएको मोटरसाइकलमा भण्डारी लागुऔषध बोकेर सवार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भण्डारीले लागुऔषध मुखमा राखेका थिए ।
कैलाली जिल्ला अदालतले पक्राउ परेका दुवै जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।