इन्जिनियर, नायबसुब्बा र कार्यालय सहयोगी घुससहित रंगेहात पक्राउ

मुख्य समाचार समाज

बारा, २४ असार, २०७६ । पचरौता नगरपालिकाका इन्जिनियर, नायबसुब्बा र कार्यालय सहयोगी मंगलवार घुस लिइ सकेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले पचरौता नगरपरपालिकाका इन्जिनियर रामप्रकाश सतरा, नायबसुब्बा बद्रीबहादुर थापा र कार्यालय सहयोगी ध्रुव महतोलाई पक्राउ गरेको हो ।

नगरपालिकाभित्र रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवानीपुरको गरिएको कम्पाउण्ड निर्माणको भुक्तानी दिनको लागि टिप्पणीमा सही गर्न सेवाग्रहीबाट इन्जिनियर सतराले १५ हजार घुस लिएका थिए । नायबसुब्बा थापा महिला सशक्तिकरणको अनुशिक्षण तालिमको भुक्तानी दिन टिप्पणी उठाउन १४ हजार घुस लिएपछि पक्राउ गरिएको अख्तियार दुरुपयोग आयोग टंगालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पक्राउ परेका इन्जिनियर सतरासँग कुरा मिलाउन कार्यालय सहयोगी महतोले सेवाग्राहीसँग रकम लिएर इन्जिनियर सतरालाई दिएपछि उनी पनि पक्राउ परेका अख्तियारले जनाएको छ । नायबसुब्बा थापा जिल्ला विकास समिति बाराका अवकाश प्राप्त कर्मचारी हुन् । उनी नगरपालिकाको योजना शाखामा प्रमुख भएर दैनिक ज्यालादारीमा काम गर्दै आएका थिए ।