प्रहरीद्वारा अढाई सय बोट गाँजा नष्ट

ट्राफिक/प्रहरी मुख्य समाचार

खोटाङ, २४ असार, २०७६ । जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलको हाटडाँडा क्षेत्रमा गाँजाको बोट नष्ट गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडा क्षेत्रमा करिब अढाई सय बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए ।

विभिन्न व्यक्तिको जग्गामा गाँजा हुर्केको जानकारी प्राप्त भएको आधारमा सोमबार प्रहरीको टोली पुगेर गाँजा फँडानी गरेको हो । स्थानीयले भने व्यवसायिक रुपमा गाँजा नलगाइएको तथा आफैँ उम्रेको बताएका छन् । प्रहरीले हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दुर्छिम, बाहुनीडाँडा लगायतका क्षेत्रमा पनि फाट्टफुट्ट गाँजाको बोट नष्ट गरेको प्रहरी निरीक्षक कट्वालले बताए ।

विगतका वर्ष हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दुर्छिम, डिकुवा, बडहरे, बाहुनीडाँडा, मंगलटार, च्यास्मीटार लगायतका ठाउँमा गाँजा खेती लगाउने गरिएकामा प्रहरीले नष्ट पार्न थालेपछि पछिल्लो समय गाँजा लगाउन छाडिएको छ । उदयपुरबाट आउने गाँजा ठेकेदारले अग्रिम भुक्तानी दिएर किसानलाई यसको खेतीतर्फ उक्साउने गरेका थिए ।