किसानलाई आधुनिक कृषि औजार वितरण

कृषि मुख्य समाचार

धनकुटा, २४ असार, २०७६ । कृषि ज्ञान केन्द्र धनकुटाको सहयोगमा महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका किसानलाई मिनिटिलर (हाते ट्याक्टर), धान, मकै पिस्ने मिलसहित विभिन्न आधुनिक कृषि औजार वितरण गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच सघन बाली विकास कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्र र किसानको लागत साझेदारीमा उक्त सामाग्रीहरु वितरण गरिएको हो ।

सघन बाली विकास कार्यक्रम (मकै) तर्फ ५० प्रतिशत छुट अनुदानमा तीन वटा मिनिटिलर (हाते ट्याक्टर) र ५० प्रतिशत छुट अनुदानमै धान मकै पिस्ने ७ थान मिल पनि प्रदान गरिएको थियो । त्यस्तै ५०/५० थान कोदालो र हँसिया, एक सय थान त्रिपाल पनि वितरण गरिएको थियो ।

सिचाई सुविधा नपुगेको मकै खेती क्षेत्रमा शाखा कुलो मार्फत सुविधा पुर्याउने उद्देश्यसहित कुल ४ लाख ७० हजार रुपैयाको लागतमा पाइप खरिद गरेर सिचाई सुविधाको व्यवस्था गरिएको छ ।

यसैगरी डाँडागाउँमै कृषि ज्ञान केन्द्र धनकुटाको ५ लाख रुपैया लगानीमा दिल्पा कृषक समूहले निर्माण गरिरहेको आलु भण्डारको लागि रस्टिक स्टोर (घर) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

भवन निर्माणको सम्पन्न भइसकेको र फिनिसिनिङ कामहरु धमाधम भइरहेको छ । ८५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ । सो भवन निर्माणमा स्थानीयको १५ प्रतिशत जनसहभागिता रहेको छ ।

महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल, ३ नं. वडाका वडाध्यक्ष भरत थापा लगायतले किसानलाई कृषिजन्य औजार सामाग्री वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पर्शुराम नेपालले कृषिजन्य उत्पादनको सम्भावना रहेको ३ नं. वडा भित्रका टोलहरुलाई उत्पादनको हिसाबले पकेट क्षेत्र निर्धारण विकास गर्ने बताए । उनले कृषिजन्य उत्पादन सम्भाव्यताको आधारमा पकेट क्षेत्र घोषणा गरेर व्यवसायिक कृषिमूलक कार्यक्रम संचालन गर्ने उनले बताए ।