एनआरएनलाई नागरिकता दिन सक्दो पहल गर्छु : सांसद परियार

मुख्य समाचार राजनीति

काठमाडौं, २३ असार, २०७६ । इलाम समाज यूकेको १०औं वार्षिक भेला सामुएल कोडी स्पोर्ट्स स्पेसियलिस्ट कलेज फार्नबरोमा शनिबार सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सुजाता परियारको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

भेलामा बोल्दै सांसद परियारले आफ्नो देश र ठाउँमा लगानी भित्र्याउन उनले आग्रह गरिन् । त्यसपछि मात्र पर्यटनको विकास हुने धारणा उनको थियो । ‘तपाईंहरूले व्यस्तताका बीच इलामका लागि सोचिरहनुभएको छ । यहाँबाट जिल्लामा विभिन्न सहयोग गरिरहनुभएको छ’, उनले भनिन्, ‘सहयोग अझै बढाउनुस् । जिल्लाको विकास तथा समृद्धिका लागि हातेमालो गरौं ।’

उनले एनआरएनलाई नागरिकता दिने विषयमा कुरा चलिरहेको उल्लेख गरिन् । यसमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनको भनाइ थियो । उनले गोर्खा सैनिकको पेन्सन समस्याबारे कुरा उठाउने बताइन् । यूकेमा आफन्तलगायत स्कुलका साथीसम्म भेटेको सुनाउँदै उनले खुसी व्यक्त गरिन् ।

बीजीडब्लुएस गोर्खा रेडियोका प्रबन्धक मेजर सोनाम छिरिङ शेर्पाले आफ्नो पुख्र्यौली थलो इलाम भएको सुनाए । इलामका सबै कुरा राम्रो भएको उनले बताए । बाँकी दिनमा पनि राम्रो गर्नुपर्नेमा उनको जोड रह्यो ।

समाजका अध्यक्ष गोपाल गिरीले संस्थाका गतिविधिबारे जानकारी दिए । थप राम्रा काम गर्दै अघि बढ्ने प्रतिबद्धता उनले जनाए ।