छ बालबालिका एक वर्षदेखि बेपत्ता !

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

इटहरी, २३ असार, २०७६ । इटहरी क्षेत्रबाट एक वर्षको अवधिमा ५८ जना बालबालिका हराएकोमा छ जना अझैसम्म बेपत्ता छन् । २०७५ साउनदेखि २०७६ असार २० गतेसम्म बेपत्ता हुनेमा तीन जना बालक र तीन जना बालिका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीमा हराएका बालबालिकाको रेकर्ड अनुसार एक वर्षको अवधिमा २८ जना बालक र ३० जना बालिका रहेकोमा अधिकांश भेटिए पनि छ जना अझैसम्म फेला पार्न नसकेको महिला सेलकी प्रमुख सई कृष्णा अधिकारीले बताइन् । वेपत्ता हुनेमा दुई सातादेखि इटहरी वडा नं.– ४ का १५ वर्षीय सरोजकुमार मण्डल, बाँके कोहलपुर घर भई इटहरीमै बस्दै आएका १५ वर्षीय देवेन्द्र साही ठकुरी र इटहरी वडा नं.– ४ कै १३ वर्षीय सिरिस रार्र्ई छन् ।

यस्तै, इटहरीकै १५ वर्षीया लक्ष्मीकुमारी झा, वडा नं.– ९ की सोही उमेरकी अङ्गुरी सिद्धिकी र वडा नं.– ९ कै १६ वर्षीया आयूसा बानियाँ बेपत्ता भएको प्रहरीको रेकर्डमा उल्लेख छ । वेपत्ता भएकाको खोजी भइरहेको प्रहरीले जनायो । ‘छ जनाबाहेक अरु बालबालिका प्रहरीकै सक्रियतामा फेला परेका हुन्,’ सई अधिकारीले भनिन् ।