विप्लवका कार्यकर्ताद्वारा मुगुका स्थानीय तहका कार्यालयहरुमा तालाबन्दी

मुगु, २३ असार, २०७६ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकताहरुले मुगुका स्थानीय तहका कार्यालयहरुमा आइतबार राती ताला लगाएका छन् । जिल्लाका छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा गए राती आएका विप्लवका कार्यकर्ताहरुले ताला लगाएका हुन् ।

तीन वटा स्थानीय तहमा राती नै ताला लगाए पनि मुगुम कार्मारोङ्ग गाउँपालिका प्रहरी चौकी पुलुसँगै जोडिएकाले यहाँ भने ताला लगाउन सकेनन् । राती नै ताला लगाएर प्रत्येक कार्यालयको गेटमा प्रेस विज्ञप्ति समेत टाँस गरिएको छ । राती विप्लवका कार्यकर्ताहरुले ताला लगाए पनि बिहानै प्रहरीले लगाइएका ताला तोडेका छन् ।

सोरु गाउँपालिकामा विप्लवका कार्यकर्ताहरुले गेटमा टासेको विज्ञप्ति प्राप्त भएको छ । विज्ञप्तिमा १५ स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारलाई १५ बुँदे आरोप लगाइएको छ । विज्ञप्तिमा संसदीय व्यवस्थालाई फटाहा, दलाल र विचौलियाको व्यवस्था भएको, स्थानीय तह, प्रदेशमा ब्रमलुट मच्चिएको, कर्मचारी भर्नामा आस्थागत र नातागत अनुसार भर्ना गरेको, जनप्रतिनिधि भनेर राज्यको दोहन गदै तलव भत्ता दिइएको आरोप लगाइएको छ ।

यसैगरी वर्ष दिन बित्दा पनि साामजिक सुरक्षा भत्ता वितरण नगरिएको, विकास योजना आवश्यकता भन्दा अनुकलतामा छनौट गरिएको, वर्ष भरी चुप लागेर आर्थिक वर्षको अन्त्यमा बजेट सिध्याउन हतारमा काम थालनी र निकासा गरेको, चालु र पूजीगत बजेटको सार्वजनिक सुनुवाई नगरेको, जनताका छोरा छोरीलाई बेरोजगार बनाई कमिसनको लोभमा जनप्रतिनिधि र आसेपासेले नै डोजर चलाएको, गरिव जनतालाई करको भारी बोकाएको भन्दै ताला बन्द गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।