विशेष प्रशिक्षणकालागि नेपाली बक्सिङ टोली थाइल्याण्ड प्रस्थान

खेलकुद मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २३ असार, २०७६ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारीका साथै विशेष प्रशिक्षणका लागि नेपाली बक्सिङ टोली सोमबार थाइल्याण्ड प्रस्थान गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार खेलाडी तथा प्रशिक्षकलाई शुभकामनासहित बिदाई गरे ।

थाइल्याण्ड जाने प्रशिक्षार्थी खेलाडीमा पुरुषतर्फ सुशील थापा मगर, तेज बहादुर देउवा, पुरन राई, सनिल शाही, भुपेन्द्र थापा, विकास लामा, दिपक श्रेष्ठ, गणेश प्रधान, अर्जुन सिंगु र आशिष दुवाडी रहेका छन् । महिलातर्फ सुस्मा तामाङ, ललिता महर्जन, माला राई, मिनु गुरुङ, चन्द्रकला थापा, संगीता सुनार र पुनम रावल रहेकी छन् ।

आठौँं राष्ट्रिय खेलमा महिला ४८ केजी तौल समूहकी स्वर्ण पदक बिजेता खेलाडी सुस्मा तामाङ्गको प्रतियोगिता खेल्ने उमेर नपुगेको कारण दोश्रो स्थान प्राप्त गर्ने खेलाडी ललिता महर्जनले प्रशिक्षणको अवसर पाएकी छिन् । तर सुस्मा पनि प्रशिक्षणका लागि थाईल्याण्ड जाने टोलीमा सामेल भएकी छिन् ।

त्यसैगरी महिला ५१ केजि तौल समूहमा आठौं राष्ट्रिय खेलकुदमा प्रथम स्थान प्राप्त गर्ने खेलाडी विमला श्रेष्ठ आफ्नो स्वास्थ्यको कारण प्रशिक्षणमा समावेश हुन नसक्ने भएकी छिन् । उनको सट्टामा दोश्रो हुने खेलाडी माला राईलाई अवसर दिएको छ ।

पुरुष ६० केजी तौल समूहमा आठौं राष्ट्रिय खेलकुदमा प्रथम हुन प्रकाश इजम लिम्बू र दोश्रो भएका एकबहादुर घले आफ्नो कार्य व्यस्तताका कारण प्रशिक्षणमा सहभागिता हुन नसक्ने जानकारी गराएपछि छनोट खेलमार्फत सनिल साही छनोट भई टिममा पर्न सफल भएका हुन् । पुरुष ८१ केजीका च्याम्पियन मनोहर बस्नेत (माक्स) आफ्नो स्वास्थ्यको कारण प्रशिक्षणमा जाननसक्ने भनि निवेदन दिएकाले दोश्रो हुने खेलाडी गणेश प्रधानलाई टिम प्रशिक्षणमा सहभागिता गराईएको संघले जनाएको छ ।

टोलीको प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, वरिष्ठ प्रशिक्षकमा प्रविन तुलाधर, प्रशिक्षकमा राजु थापा र उमेश कटवालसहित १७ जनाको टोलीलाई सोमबार त्रिभवन अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले नेपाल बक्सिङ्गसँगका सदस्य पुस्कर पन्त, श्याम अवाले, राष्ट्रिय खेलकुद परिषदका टीम निर्देशक महेन्द्र राई लगायतले विदाइ गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्ले बक्सिङका खेलाडीलाई हाल बन्द प्रशिक्षणमा राखेर तालिम दिइरहेको छ । नेपाली बक्सिङ टोलीले थाइल्याण्डको बैंककमा करिब २ महिना विशेष प्रशिक्षण लिए पश्चात जुलाई २० देखि २८ सम्म आयोजना हुने थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिनेछ ।

नेपाली टोली भदौ १२ गतेसम्म थाइल्याण्डमा रहने छ ।