चाकु खोलाले दुई जना बगायो, ६ जलविद्युत आयोजनामा क्षतिग्रस्त

आजको बजार मुख्य समाचार समाज

सिन्धुपाल्चोक, २२ असार, २०७६ । अबिरल वर्षासँगै शनिबार मध्यराती चाकु खोलामा आएको बाढीले बगाउँदा जलविद्युत आयोजनामा कार्यरत दुई कर्मचारी बेपत्ता भएका छन् । अरु दुई घाइते कर्मचारीलाई हेलिकप्टरबाट उद्दार गरी उपचारमा पठाइएको छ ।

चीन सीमा नाका भोटेकोसी गाउँपालिकामा निर्माणाधीन माथिल्लो चाकु जलविद्युत आयोजनामा बाढी छिर्दा त्यहाँ कार्यरत साइट इन्चार्ज बाराका यादव काफ्ले र सुनसरी जिल्लाका इलेक्ट्रेसियन रामऔतार चौधरी बेपत्ता भएका हुन् । बाढीले चाकु खोलातिरै बगाएको अनुमान गरिएका उनीहरुलाई फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर यादव थापाले बताए । उनका अनुसार सुरक्षाकर्मी परिचालन गरेर बेपत्ताको खोजी कार्य जारी राखिएको छ ।

बेपत्ताद्वय शिवश्री हाइड्रो पावरद्वारा निर्माणाधीन एक सय २२ मेगावाट क्षमताको उक्त आयोजनाको उपठेकेदार बेस स्टक्चरका कर्मचारी हुन् । शिवश्रीकै पहलमा बाढीमा परी घाइते माथिल्लो चाकुका कामी तामाङ र लाफिङ बुद्ध कम्पनीका पेम्बाथोकेल शेर्पालाई आइतबार बिहान हेलिकप्टरबाट उद्दार गरिएको छ । सुरक्षा गार्ड उनीहरुको ललितपुरस्थित बि एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । हेलिकप्टर अवतरण गर्न नसकेपछि डोरीको सहायतामा उनीहरुको उद्दार सम्भव भएको शिवश्रीका सञ्चालक सदस्य उमेश कसजूले बताए ।

तस्विर: फायल