सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनेलाई कारबाही हुन्छः गृहमन्त्री थापा

मुख्य समाचार राजनीति विषेश समाचार

चितवन, २२ असार, २०७६ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउने व्यक्ति र समूहलाई कारबाही गरिने बताएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा प्रहरी सहायक निरीक्षकहरुको दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै गृहमन्त्री थापाले आपराधिक गतिविधिमा संलग्न हुने व्यक्ति, समूहलाई योजनावद्ध रुपमा कारवाही गरिने बताएका हुन् ।

‘राज्य पुनःसंरचनाको अवस्थामा विभिन्न आपराधिक, विखण्डनकारी, वर्तमान राज्यप्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहहरुले सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउन सक्ने सम्भावना देखिन्छ’ उनले भने, ‘प्रहरी संयन्त्रले सुक्ष्म विश्लेषण गरी योजनाबद्ध रुपमा कारबाही गर्न कुनै कसर बाँकी राख्नेछैन ।’ गत वर्षको भदौबाट लागू भएको फौजदारी संहिता र कानुनी अवस्थालाई हेरेर प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको उनले बताए । कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा आजको दिनसम्म पनि चुनौती रहेको उनले औंल्याए ।

शिक्षालयको आधारभुत तालिम २ को १७५ औं समूहबाट उनीहरु सबै प्रहरी सहायक निरीक्षकमा नियुक्त भएका हुन् । २ सय ५५ दिनको तालिम सकेर दीक्षित भएकाहरु मध्ये २१ जना महिला छन् । दीक्षित भएकाहरु मध्ये २१७ जनाले क श्रेणी र ८८ जनाले ख श्रेणी हासिल गरेका छन् । तालिम सकेर दीक्षित भएर प्रहरी बनेकाहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । तालिममा उत्कृष्ट अंक हासिल गरेका सहायक प्रहरी निरीक्षकहरुलाई पुरस्कृत गरिएको थियो । दीक्षितहरुले कवाज प्रस्तुत गर्नुका साथै सलामी दिएका थिए ।