[बौद्ध दर्शन] सुत्त–पिटकका पाँच विभाग

मुख्य समाचार विचार

— शीतल गिरी
बौद्धदर्शन आफ्नो मूलभूत विचारहरू र साररूपमा आजको समयको उन्नत वैज्ञानिक विचारहरूसँग अद्भूत रूपमा मिल्दो जुल्दो छ । जर्मनीको आधुनिक निराशावादपरक दर्शन सिद्धान्तको विषयमा भनिन्छ, ‘यो बौद्धमतभन्दा पनि धेरै असंस्कृत र प्राकृत छ’ । प्राचीन बौद्धधर्म एउटा यस्तो दर्शनको रूपरेखा प्रस्तुत गर्दछ जुन वर्तमान समयको क्रियात्मक मागहरूको पूर्तिको लागि सर्वथा अनुकूल छ र धार्मिक विश्वास र भौतिक विज्ञानकोबीचमा जुन विरोध जस्तो लाग्दछ त्यसमा परस्पर समन्वय स्थापित गर्नमा पूर्णतया सहायक छ ।

बौद्ध विचारधारामा नेपालमा पनि एक हजार वर्षभन्दा केही धेरै समयसम्म निरन्तर विकास भएको पाउछौं । बुद्धको मृत्युपछिको शताब्दीमा बौद्धधर्मको सिद्धान्तमा कम्तिमा पनि १८ पटक हेरफेर भएको हामी पाउदछौं । जहाँ एकातिर प्राचीन बौद्धधर्म र त्यसको हीनयान र महायान सम्प्रदाय यसै युगमा भएको हो त्यही बौद्ध विचारधाराको चारवटा सम्प्रदायले हामीलाई त्यो भन्दा पनि पर पुर्याउदछ । प्रारम्भिक बौद्धधर्मको वृतान्त थाहा पाउनको लागि हामी त्रिपिटकमा भर पर्नैपर्छ, जसको अर्थ हुन्छ, नैतिक नियमहरूको पोको ।

प्राचीन भारतीय बौद्ध यसैलाई नै बुद्ध भगवानको उपदेश एवम् आचरणको रूपमा मान्दथे । धेरै सम्भव छ, ईसा भन्दा २४१ वर्ष पहिले यी पिटकहरूको संग्रह भयो र यी पूर्ण रूपमा आए । आज जुन सामग्री हामी पाउदछौं त्यसमध्ये निःसन्देह यो सबभन्दा धेरै प्राचीन र सबभन्दा धेरै प्रमाणिक लेख हो । गौतमको मृत्यु पछि, उनका अनुयायीले उनका सिद्धान्त एकत्रित गरी मूर्त रूप दिन मगधको नजिक राजगृहमा एउटा परिषद् बसालेका थिए । त्यस परिषद्मा बुद्धको त्यस बेलाको वर्तमान शिष्यहरूमा सबभन्दा पुराना शिष्यलाई विनय पिटकमा पाइने अनुशासनका नियमहरू र उपनियमहरू सुनाउन भनियो ।

धेरै पछिसम्म पनि बुद्धको शिक्षाको प्रचार नियमपूर्वक शिक्षकहरू र शिष्यहरूद्वारा नै क्रमागत रुपमा हुदै रह्यो र त्यस शिक्षालाई ईश्वी सन् ८० पछि लंकाका राजा वत्तगामनिको शासनकालमा लेखबद्ध गरियो । पालीको धार्मिक व्यवस्थाको तीन विभाग छन्— (१) सुत्त अथवा कथा, (२) विनय अथवा अनुशासन र (३) अभिधम्म अथवा सिद्धान्त ।

सुत्त–पिटकको पाँच विभाग छ, त्यसमध्ये पहिलो चारमा मुख्यरूपले बुद्धको सुत्त अथवा कथात्मक व्याख्यान छ । यसले जुन सिद्धान्तहरूलाई सम्झाउने कोशिस गरेको छ त्यसमा आपसमा कुनै मतभेद छैन । पाँच विभाग निम्न लिखित छन्—


(१) दीर्घनिकायः लामा भाषणहरूको संग्रह हो जसमा चौँतिस सुत्त छन् । जसमध्ये प्रत्येकले बुद्धधर्मको सिद्धान्तहरूको कुनै न कुनै विवाद विषयलाई प्रतिपादन गर्दछ । यसमध्ये पहिलो हो ब्रह्मजालसुत्त, दोस्रो सामञ्ञफलसुत्त (तपस्वी जीवनको पुरस्कारको विषयमा) । अम्वट्ठसुत्त जन्मपरक जातिको विषयमा बुद्धको कस्तो विचार थियो यसको प्रतिपादन गर्दछ । कूटदन्तसुत्त ब्राह्मण धर्म एवम् बौद्धधर्मको परस्पर सम्बन्धको विषयको प्रतिपादन गर्दछ । महानिदानसुत्तमा कारणकार्य सम्बन्धको प्रतिपादन गर्दछ । सिगालोवासुत्तमा बौद्धगृहस्थहरूको कत्र्तब्य बताइएको छ । महापरिनिब्वानसुत्तमा बुद्धको अन्तिम दिनहरूका वृतान्त दिइएको छ ।

(२) मज्झिमनिकायः साधारण लम्बाईको भाषणहरूको संग्रह हो । यसमा लगभग १५२ उपदेश, एवं संवाद छ जसमा बौद्धधर्मको सबै विवाद–विषय आएको छ ।

(३) संयुक्तनिकायः संयुक्त भाषणहरूको संग्रह हो । प्रसिद्ध धम्मचक्क पवत्तनसुत्त पनि यस अन्तर्गत छ, अर्थात् धर्मचक्रलाई गति प्रदान गर्ने सम्बन्धमा भाषण छ । यसलाई साधारणतः वाराणसीको उपदेशको नामले चिनिन्छ र विनयपिटकमा पनि यो पाइने गरेको छ ।

(४) अंगुत्तरनिकायमाः २३०० सुत्तहरूभन्दा केही धेरै छ र ११ विभागहरूमा विभाजित छ । यिनीहरूको क्रम यसरी राखिएको छ कि पहिलोमा ती वस्तुहरूको वर्णन छ जो एकै किसिमको छ, दोश्रोमा ती वस्तुहरूको वर्णन छ जो दुई किसिमको छ, इत्यादि ।

(५) खुद्दकनिकायः स–साना टुक्राहरूको संग्रह हो । यसमा १५ विभाग छ ः (१) खुद्दकपाठ, (२) धम्मपाठ, (३) उदान, (४) इतिवृत्तक, (५) सुत्तनिपात, (६) विभानवत्थु, (७) पेतवत्थु, (८) थेरगाथा, (९) थेरीगाथा, (१०) जातक, (११) निद्देस्, (१२) पटिसंभिदामग्ग, (१३) अपदान, (१४) बुद्धवंश, (१५) करियापिटक ।

थेरगाथा र थेरीगाथा दुवै काव्यको दृष्टिले अत्यन्त श्रेष्ठ र मानवीय दृष्टिले सम्पन्न छ । मोक्ष र आनन्द सम्बन्धी उनको गीत संघका ती सदस्यहरूद्वारा रचिएको भनिएको छ, जसलाई बुद्धको जीवनकालमा नै अर्हत्ता, पूर्ण शान्ति एवं अनिर्वचनीय आनन्दको आस्था, प्राप्त भएको थियो । जातककथामा जनश्रुतिमा आधारित गौतमको पूर्वजन्मको इतिहास दिइएको छ । यो लोकसाहित्यका विद्यार्थीहरूका लागि अत्यन्त महत्त्वपूर्ण छ । धम्मपदमा बुद्धको सिद्धान्तहरूको सार दिइएको छ । यस्तो व्यक्ति जसमा त्रिपिटकको अध्यायको लागि आवश्यक धैर्य वा क्षमताको अभाव छ, बौद्धधर्मको नीतिशास्त्रको सारस्वरूप यसै ग्रन्थलाई पढ्छन् ।

‘विसुद्विमग्ग’ पछाडिको ग्रन्थ हो (ई.सन् ४००), जसको निर्माण बौद्धधर्म स्वीकार गरेका बुद्धघोष नामका ब्राह्मणले गरेका थिए । बुद्धघोष पहिलो बौद्ध टिकाकार हुन् । बुद्धघोषको कालभन्दा धेरै पछिसम्म पनि थेरवाद विकसित भइसकेको थिएन । दार्शनिक होइन, तब पनि ऐतिहासिक महत्त्वका अन्य पालि ग्रन्थहरूमा— दीपवंश (चौथो शताब्दी) र महावंश (पाचौं शताब्दी) । प्रस्तुत लेखमा अर्वाचीन ग्रन्थहरूको पनि उपयोग गरिएको छ, तर यस कुरोलाई ध्यानमा राख्दै कुनै यस्तो विचार नपरोस् जो प्राचीन लेखहरूमा नहोस् । अस्तु !!