देशभर मनसुन सक्रिय, आइतबार भारी वर्षाको सम्भावना

मुख्य समाचार विषेश समाचार समाज

काठमाडौं, २२ असार । देशैभरी पूर्ण रुपमा मनसुन सक्रिय भएपछि आइतबार देश भरी भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भारतमा रहेको न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालतर्फ नजिकिँदै गरेकाले वर्षाको सम्भावना रहेको हो ।

हाल न्यून चापीय रेखा भारतको झारखण्ड र आन्ध्र प्रदेशमा आइसकेको छ । सोही चापीय रेखा नेपाल प्रवेश गर्ने र वर्षा हुने सम्भावना बढ्दै गएको महाशाखाले जानकारी दिएको छ । हिजो शनिवार देशभरी बदलीसँगै भारी वर्षा भएको थियो ।

आज पनि देशभरको मौसम बदली भएको र मध्यमदेखि भारी मात्रामा पानी पर्ने सम्भावना छ । आज पश्चिमी क्षेत्रमा अत्याधिक वर्षा हुने छ भने मध्य र पूर्वका पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

हिजो शनिबार देशका सबै भागमा पानी परेको थियो । काठमाडौंमा मात्र झन्डै ५ घन्टा लगातार वर्षा भएको मौसम विभागले जानकारी दिएको छ । यस्तै, शनिबार सबैभन्दा बढी वर्षा बाँकेको नपालगञ्जमा १०९ दशमलव ४ मिलिमिटर र दोस्रोमा बाराको सिमरामा ७३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।