वीरगञ्जको वनस्पति घ्यु उद्योगमा भीषण आगलागी

आजको बजार मुख्य समाचार समाज

वीरगन्ज, २१ असार, २०७६ । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा शनिबार बिहान भीषण आगलागी भएको छ । बिहान करिब दुई बजेदेखि सुरु भएको आगलागी बिहान ११ बजे मात्रै नियन्त्रणमा आएको हो ।

पाँचवटा वारुण यन्त्रको सहयोगमा उद्योगमा लागेको आगो निभाउन सफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले बताए । आगो निभाउनकालागि वीरगन्ज महानगरपालिका, पोखरीया नगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट वारुण यन्त्र झिकाएर खटाइएको थियो । वारुणयन्त्रको सहयोगमासँगै रहेका अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले सहयोग गरेका थिए ।

पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी गराए अनुसार आगो निभाउनकालागि नेपाल प्रहरीका ५२ जनासँगै सशस्त्र प्रहरीका ३५ जना र नेपाली सेनाका २२ जना परिचालन गरिएको थियो ।

प्रारम्भिक अनुमानमा विद्युत सर्किट सर्ट भएर उद्योगमा आगो लागेको हुन सक्ने आँकलन गरिएको प्रजिअ भटटराईले बताए । आगो उद्योग बाहिरका अन्य उद्योग वा बस्तीसम्म पुग्न नदिन सतर्क रहन आह्वान गरिएको प्रजिअ भटटराईले बताए ।