एक सय १७ वर्ष जेल सजाय तोकिएका मोस्ट वान्टेड नसिम पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार

काठमाडौँ, २१ असार, २०७६ । कुख्यात अपराधी मायादेवी गाउँपालिका– ४ का नसिम खा बादशाह शनिबार बिहान पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यारोेले काठमाडौँको सिनामंगलाबाट नसिमलाई पक्राउ गरेको हो ।

नमिसमाथि ८ वटा कर्तव्य ज्यान तथा अपहरण डकैती र लुटपाट सम्बन्धी मुद्दा रहेको प्रहरीको विवरणमा छ । नसिम प्रहरीका सर्वाधिक खोजी (मोस्ट वान्टेड) को सूचीमा थिए ।

विभिन्न मुद्दामा उनीमाथि अदालतले १ सय १७ वर्ष जेल सजायसमेत तोकको प्रहरीले जनाएको छ । कपिलवस्तुका प्रहरी उपरिक्षक दीप शमशेर जबराले नसिमलाई प्रहरीले एक महिना अघिदेखि निगरानी गरेको बताए । पक्राउ परेसँगै २ दशक बढीको उनको अपराधिक यात्रामा पूर्णविराम लागेको छ । नसिमलाई सिआईबिका प्रहरी नायब उपरीक्षक हरि बस्नेतको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको हो ।

जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसमेत रहेको नसिमले सरकारी टोलीसँग वार्ता गर्ने नाममा जिल्ला तथा नेपालका विभिन्न स्थानमा निर्वाध आउजाउ गर्थे । ‘हामीले नसिमलार्ई पक्राउ गर्न तयारी गरेका थियौ, काठमाडौँमा रहेको खबर सिआईबिलाई दिएका थियौँ’ प्रहरी उपरीक्षक राणाले भने ‘सिआईबिले काठमाडौमा नसिमलाई पक्रेको हामीलाई जानकारी गराएको छ ।’ कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय तोकेपछि वर्षौँदेखि उनी प्रहरीको फरार सुचीमा थिए ।

आफनो संरक्षणकालागि उनले नेकपाको केन्द्रदेखि जिल्ला स्तरको नेतासँग सम्बन्ध बढाएको प्रहरी श्रोतको भनाई छ । नेकपाका नेताहरुको हिमचिमका कारण नसिमले आफनी श्रीमती फौजिया नसिमलाई नेकपाको कोटाबाट समानुपातिकतर्फ प्रदेश सदस्य बनाएको श्रोतको भनाई छ । प्रदेश सदस्य फौजियाकोसमेत दुई वटा नेपाली नागरिकता रहेको स्रोत बताउँछ ।

कपिलवस्तु जिल्ला अदालतले हत्याको ६ वटा मुद्दा र एउटा डाँका मुद्दामा उनको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको प्रहरील जनाएको छ । घटनामा संलग्न खाँले सबै हत्यामा सहयोग गरेको भन्दै अदालतले २०६९ सालमा १ सय १७ वर्षको जेल सजाय तोकिसकेको छ ।