सार्वजनिक सवारीमा छुट लिन परिचयपत्रको प्रतिलिपि अनिवार्य

आजको बजार मुख्य समाचार समाज

रसुवा, २१ असार, २०७६ । यातायात व्यवसायी कम्पनीहरुले कानुन विपरित सञ्चालन गरेका थोत्रा, पुराना र मापदण्ड विपरितका सार्वजनिक यातायातका सवारी साधन तत्काल हटाउने भएका छन् । यस्ता सवारी साधनले दुर्घटनाको जोखिम बढेको भन्दै जिल्लाका तीन ओटा विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम अघि बढाएपछि दुई पक्षबीच शुक्रबार भएको छलफलले यो निर्णय गरेको हो ।

छलफलबाट पासाङ ल्हामुमार्गको रसुवाखण्डमा सञ्चालन हुने सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनका लागि व्यवसायी र विद्यार्थी संगठन बीच ५ बुँदे सहमति भएको छ । यातायात व्यवस्थापनको क्षेत्रमा रहेका विविध समस्याको समाधानको लागि तत्काल प्रक्रिया अघि बढाउने सहमति भएको अनेरास्ववियूका केन्द्रीय सदस्य सुरेश अधिकारीले बताए ।

सार्वजनिक यातायातका सवारी साधनमा नेपाल सरकारको प्रचलित नियम अनुसार विद्यार्थी, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई दिने छुट र सहुलियतलाई पूर्ण कार्यान्वयन गरिने छ । छुट सहुलियतका लागि सम्बन्धित व्यक्तिले छोटो दूरीमा कार्ड र लामो दूरीमा परिचयपत्रको प्रतिलिपि समेत पेस गर्नुपर्ने सहमति भएको उनले बताए ।

सार्वजनिक यातायातका साधनले अतिरिक्त सेवाको रूपमा सेवा शुल्क लिँदै आए पनि सेवा दिने गरेका छैनन् । यसको समाधानको लागि १५ दिनको समय सीमा तोकिएको छ ।
व्यवसायीले १५ दिनभित्र यात्रुलाई सुविधा वापत पानी दिनुपर्ने, टिभी, पंखा, वाइफाई, एसी लगायतका सामग्रीको व्यवस्था गर्ने तथा बिग्रिएको भए मर्मत गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।