परराष्ट्र मन्त्री भन्छन्, ‘विषादी परीक्षण भारतको दवावमा रोकिएको होइन’

कृषि मुख्य समाचार विषेश समाचार

रुपन्देही, २१ असार, २०७६ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतबाट ल्याइने तरकारीको विषादी परीक्षण भारतको दवावका कारण नरोकेको स्पष्ट पारेका छन् । उनले सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगित गरेको बताए ।

‘सरकार पछि हट्यो भन्ने ढंगले व्याख्या भएको छ, त्यस्तो होइन’ उनले भने ‘तयारी गरेपछि भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण हुन्छ ।’ नेकपा बुटवल उपमहानगर कमिटीले शनिबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ६ महिनाभित्र तयारीका सबै काम सकेर विषादी परीक्षणलाई निरन्तरता दिने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको पनि दावी गरे । उनले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र संघीयतालाई स्थापित गर्न सफल भएको बताए ।

मन्त्री ज्ञवालीले वर्तमान सरकारको मुख्य ‘मिसन’ मुलुकको समृद्धि भएको बताउँदै अहिलेसम्म भएका सबै खाले आन्दोलनबाट प्राप्त अधिकारको जगमा उभिएर आर्थिक समृद्धिमा देश अघि बढेको दाबी गरे ।