बीमा रकम पाउनका लागि आफ्नै ४ वर्षीया छोरीको हत्या !

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार समाज

रौतहट, २० असार, २०७६ । बीमा रकम पाउनका लागि आफ्नै छोरी ४ वर्षीया लक्ष्मी कुमारी यादवको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । मौलापुर नगरपालिका–६ पथरा बुधराम घर भएका ३९ वर्षीय राम किशोर राय यादवलाई बुधबार साँझ गौरबाट प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घरमा आमासँग सुतिरहेकी लक्ष्मी कुमारी मंगलबार बिहान बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा स्थानीय फगुनी राय यादवको माछापोखरीमा बालिकाको शव फेला पारेको थियो ।

घटना शंकास्पद भएकोले जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले गहन अनुसन्धान गर्ने क्रममा मृतकको बाबु नै शंकास्पद देखिएका थिए । उनलाई पक्राउ गरी सोधपुछ गर्दा घरमा निदाइरहेकी छोरीलाई रातको करिब १ देखि १स्३० बजेको बीचमा आफैँले काँधमा बोकी पोखरीको डिलसम्म पुर्‍याएको र नाक, मुख थुनेर हत्या गरे पश्चात् शव पोखरीमा फालेको उनले स्वीकार गरेको प्रहरीले बताएको छ ।

आर्थिक समस्याको कारण बीमा रकमको लोभमा हत्या नै गर्ने योजना बनाई पहिले ३० लाखको बीमा गराउन चाहेको तर सम्भव नभएपछि २०७६ जेठ १९ गते मृतक बालिकाको नाममा प्रभु लाईफ इन्सुरेन्स लिमिटेड गरुडा, उपशाखाबाट २५ लाख रुपैयाँको जीवन बीमा गरेको र सोही रकम प्राप्त गर्न छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

अभियुक्त राम किशोरले २०५८ सालदेखि २०६१ सालसम्म विभिन्न अभियोगमा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको समेत खुल्न आएको छ । राम किशोरलाई ज्यानसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।