गण्डकी प्रदेशको बजेट बहुमतले पारित

आजको बजार प्रदेश मुख्य समाचार

पोखरा, २० असार, २०७६ । गण्डकी प्रदेशको बजेट पारित भएको छ । गण्डकी प्रदेश सरकारले गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको ३२ अर्बको बजेट गण्डकी प्रदेश सभाको शुक्रबार बसेको बैठकले बहुमतले पारित गरेको हो ।

शुक्रबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७६÷७७ को आर्थिक विधेयक (बजेट) र विनियोजन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । लगत्तै सभामुख नेत्रनाथ अधिकारीले प्रस्तावित दुबै विधेयक निर्णयार्थ प्रस्तुत गर्दा प्रस्तावको पक्षमा बहुमत पुगेपछि सभामुख अधिकारीले बजेट बहुमतले पारित भएको घोषणा गरे ।

यसअघि विपक्षी दल नेपाली कांग्रेसले खर्च कटौतीको प्रस्ताव पेश गरेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्माले गण्डकी प्रदेश सरकारले ल्याएको ३२ अर्बको बजेटबाट १ सय रुपैयाँ घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए । यद्वपि उक्त प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । बजेट फेल गराउने उद्देश्यले विपक्षीले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने गर्दछ ।

बजेट पारित हुनुअघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका लागि विनियोजित शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।