दलितले छोएको ‘खान हुन्न’ भन्ने अन्धविश्वास चिर्दै सहभोज

प्रदेश मुख्य समाचार समाज

खोटाङ, २० असार, २०७६ । छुवाछुतमुक्त समाज निर्माणमा अग्रणी भूमिका निर्वाह गरेकामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ज्येष्ठ नागरिक टंकप्रसाद आचार्य सम्मानित भएका छन् । गत जेठ १८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आयोजना गरिएको सहभोजमा दलित किशोरीको हातबाट दही तथा खाना खाएर जातीय विभेद बिरुद्धको अभियानमा जुट्नका लागि उत्प्रेरणाको भूमीका निर्वाह गरेकामा जिल्ला समन्वय समितिले ७६ वर्षीय आचार्यलाई सम्मान गरेको हो ।

तेश्रो जिल्लासभाको अवसरमा शुक्रबार आचार्यलाई प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरे ।

सदियौंदेखि गडेर रहेको छुवाछुत प्रथाका विरुद्धमा उभिएर सामाजिक रुपान्तरणका पक्षमा लाग्न समाजलाई उत्प्रेरणा दिएकामा आचार्यलाई सम्मान गरिएको जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लीङले बताए । आचार्यलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि दोश्रो नगर दिवसको अवसरमा असार १८ गते सम्मान गरेको थियो ।

दलितले छोएको ‘खान हुन्न’ भन्ने अन्धविश्वासकाबीचमा हुर्किएका आचार्यले पृथ्वीमा मानवको महिला र पुरुषभन्दा अन्य जात नभएको भन्दै दलित किशोरीको हातबाट दही पिएर सहभोजमा सहभागी भएका थिए । ‘पुरातन मान्यतामा हुर्के पनि उहाँ छुवाछुतमुक्त समाज हुनुपर्छ, मानवबीचमा भेदभाव हुनुहुँदैन भनेर लाग्नु भएको छ’, जिसस प्रमुख चाम्लीङले भने, ‘जातीय छुवाछुत अन्त्या गरी सभ्य, समुन्नत र संस्कारयुक्त समाज स्थापनार्थ सक्रिया सहभागीता जनाएर समतामुलक समाज निर्माणमा अग्रणी भूमीका निर्वाह गरेकामा सम्मान प्रदान गरिएको हो ।’ कतिपय बोलाइएकै व्यक्ती नगएको सहभोजका लागि आचार्य दिक्तेलबाट खाल्ले पुगेका थिए ।

छुवाछुतमुक्त समाज निर्माणका लागि १ नम्बर प्रदेशको अभियान अन्तरगत जिल्ला समन्वय समितिले आयोजना गरेको सहभोजमा सहभागी भएपछि छरछिमेकमा कुरा काट्ने र बहिस्कार गर्नेसम्मको हल्ला चल्न थालेपछि आचार्य मानसिक तनाव झेल्न बाध्य छन् । सहभोजमा सहभागी भएपछि सामाजिकरुपमा आइपरेको अप्ठ्यारोमा प्रोत्साहनका लागि पनि समन्वय समिति र नगरपालिकाले उनलाई सम्मान गरेको जनाइएको छ ।

तस्विर: प्रतिनिधिसभा सदस्य विशाल भट्टराई