विराटनगर महानगरपालिका खुला दिसामुक्त

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

विराटनगर, २० असार, विराटनगर महानगरपालिका खुला दिसामुक्त घोषणा गरिएको छ । बुधबार महानगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले महानगरपालिकाका खुल्ला दिसा मुक्त भएको घोषणा गरेका हुन् ।

पोखरेलले महानगरका प्रमुख भीम पराजुलीलाई खुल्ला दिसा मुक्त घोषणा भएको प्रमाणपत्र प्रदान गरे । यस्तै सोही कार्यक्रममा विराटनगरको १८ र १९ नम्बर वार्डलाई पनि खुल्ला दिसा मुक्त घोषणा गरिएको थियो । विराटनगरका १९ वटै वडामा धेरै वर्षदेखि खुल्ला दिसा मुक्त बनाउन अभियान सञ्चालन गरिएको थियो ।

साझेदार संघ संस्था, अभियन्ताहरू र स्थानीयको सहयोगले महानगरपालिका खुल्ला दिसा मुक्त भएको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा प्रदेश १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले स्वास्थ्यसँग सरसफाईको प्रत्यक्ष सम्बन्ध भएकाले स्वस्थ हुन सरसफाई अति नै जरुरी रहेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले लामो समयदेखि सञ्चालन गरिएको अभियानकै कारण महानगरपालिका खुल्ला दिसामुक्त भएको बताए ।