चीनमाथि नेपाल हावी, सेमिफाइनल प्रवेश

खेलकुद मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १८ असार, २०७६ । एसिसी पूर्वी क्षेत्रीय यू-१९ प्रतियोगितामा नेपाल चीनमाथि हावी भएको छ । १० विकेटको फराकिलो जित निकाल्दै नेपालले चीनलाई पराजित गरेको छ ।

योसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालाम्पुरस्थित किनारा ओभल मैदानमा चीनले दिएको ५४ रनको सामान्य लक्ष्य नेपालले ५ ओभरमा बिना कुनै विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालकालागि पवन सर्राफ नटआउट मै ४५ र रित गौतम १० रनको योगदान दिए । सरार्फले २१ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए।

त्यसअघि टस हारेर ब्याटिङमा आएको चीनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन जोडेको थियो। नेपालका सागर ढकालले ६ र तिलक भण्डारीको नाममा ३ विकेट लिएपछि चीन सस्तैमा फर्कियो ।

समूह एमा रहेको नेपालले दोस्रो खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ। प्रतियोगिताको समूह एमा नेपाल, सिंगापुर र चीन छन्। यता समूह ‘बी’ मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् ।

तस्विर: फायल