६० किलो चाँदीसहित एक भारतीय नागरिक पक्राउ

आजको बजार ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार

मोरङ, १७ असार, २०७६ । करिब ६० किलो चाँदीसहित विराटनगरको रोडशेष चोकबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा नेपालबाट भारततर्फ जाँदै गरेका कार चेकजाँचका क्रममा सोमबार साँझ रोडशेष चोकबाट ५९ किलो ९ सय ३४ ग्राम चाँदीसहित भारतको अररिया जोगवनी –१६ का गौरवकुमार साह पक्राउ परेका हुन् ।

नेपालबाट भारततर्फ जाँदै गरेकोे विआर ११ एके १७९१ नम्बरको मारुती भ्यानको अगाडिको भागमा चालकको सिटमुनी लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा चाँदी बरामद भएको मोरङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता घनश्याम श्रेष्ठका अनुसार तीन वटा पोकामा प्याक गरेको अवस्थामा चाँदी बरामद भएको थियो ।

कार्टुन र प्लाष्टिकको पोकामा प्याक गरिएको चाँदीको पहिलो पोकामा १९ केजी ९ सय ८० ग्राम, दोस्रोमा १९ केजी ९ सय ७८ ग्राम र तेस्रो पोकामा १९ केजी ९ सय ७८ ग्राम र तेस्रो पोकामा १९ किलो ९ सय ७६ ग्राम रहेको मोरङ प्रहरीले जनाएको छ ।

बरामद गरिएको चाँदीको अनुमानित बजार मूल्य ३६ लाख ९९ हजार ६ सय ३० रुपैयाँ रहेको छ । पक्राउ परेका साह, बरामद भएको चाँदी र कार आवश्यक कार्वाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाएको प्रवक्ता श्रेष्ठले बताए ।