[सन्दर्भ – धानदिवस ] कविता : आधार के होला बाँच्ने !

मुख्य समाचार विषेश समाचार साहित्य

– डिल्लीराज अर्याल

रोपिएछ ढाकी सबै शिर, पेट, जीउ
लाइएछ माला जम्मै सार्नुपर्ने बीउ
फोटो खिची फेसबुक सजाइयो, निहुँ
‘धान दिवस’ बन्यो, मास्यौ बेकारमा बीउ ।

सिँगारिँदै नाच तिमी फोटो खिची राख
खेती गर्न दु:ख लाग्छ कमाइमा चाख
हिलोसित डर लाग्छ, साह्रै घिन लाग्छ
त्यसैले त नक्कलमा मात्र मन लाग्छ ।

श्रम गर्ने बानी छैन कुनै रुचि छैन
कृषि-कर्मतिर लाग्ने चासो पनि हैन
त्यसो हुँदाहुँदै पनि लाग्यौ देखाउन
नत्र बीउ रोप्नुपर्थ्यो शरीरमा किन ?

तिमीलाई फोटो खिच्न मन लाग्यो क्यार
नक्कल नै बन्यो तिम्रो जिन्दगीको सार !
कताकता पीडा बोध हुन्छ सम्झिएर
श्रम, सीपलाई सस्तो मान्यौ नबुझेर ।

तिम्रो शोख, धाचादेखि श्रमिकले भन्छ-
“यस्तो नक्कलले कहाँ कति नाफा हुन्छ !
बेकारको नक्कलका पछि लाग्छस् मान्छे !
उब्जाउन्नस्, पकाउन्नस् बन्न खोज्छस् भान्छे !”

मुलुकमा यस्तै मात्र मान्छे हुन थाले
नक्कलमै हिड्दाहिड्दै बने बाइफाले
कहाँ श्रम, सीप होला ! कहाँ उत्पादन !
आधार के होला बाँच्ने ! हुन्छ मनमन !