‘स्थानीय सरकार कति सबल ?’ विषयक कार्यशाला गोष्ठी सम्पन्न

प्रदेश मुख्य समाचार सूचना प्रविधि

रमेश हतुवाली, काठमाडौं, १७ असार । विकास पत्रकार मञ्च (फोडेस) नेपाल र स्थानीय सुशासन तथा समुदाय विकास कार्यक्रम (एल.जि.सि.डी.पी) ले संयुक्त रुपमा स्थानीय सरकार कति सबल ? विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेका छन् । सोमबार काठमाडौँ मध्यबानेश्वरस्थित एक रिसोर्टमा सम्पन्न सो गोष्ठीमा ३ जना विज्ञहरुले विषयगत कार्यपत्र प्रस्तुत गरेका थिए ।

वरिष्ठ पत्रकार शिव गाउँलेले स्थानीय सरकारबारे खोज पत्रकारिता, विज्ञ पुरुषोत्तम नेपालले स्थानीय सरकारको वित्तिय अवस्था र नेपाल सरकारका पूर्वसहसचिव बसन्तराज गौतमले स्थानीय सरकारको सुशासन विषयमा कार्यपत्र प्रस्तुत गरे । त्यस्तै उनीहरुको कार्यपत्रमाथि संघीयता विषयमा पीएचडी गर्दै आएका चेतनाथ कँडेल, अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापा र नेपाल सरकारको स्थानीय स्वशासन विज्ञ तथा पूर्वसहसचिव खेमराज नेपालले टिप्पणी गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार शिव गाउँलेले स्थानीय सरकार सञ्चालन भएको दुई वर्ष बितिसक्दा पनि न्याय पहुँचमा समस्या रहेको बताए । प्रहरीले स्थानीय तहमा पठाउने र स्थानीय तहले प्रहरी कहाँ फर्काउने तर दुवै निकाय जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले स्थानीय तहमा महिलालाई न्याय पाउन कठिन हुँदै गएको जानकारी दिए । त्यसैगरी स्थानीय सरकारमा निर्वाचित ६ हजार ५ सय दलित महिला वडा सदस्य भूमिकाविहीन रहेको भन्दै गाउँलेले उनीहरुलाई माईन्यूटमा सही गर्नमा सीमित गरिएको बताए । साथै गाउँलेले स्थानीय स्तरमा वित्तिय अनुशासन कमजोर देखिएको समेत बताए ।

विज्ञ पुरुषोत्तम नेपालले सुशासन कमजोर हुनुमा जिम्मेवार स्थानीय तह मात्रै हो त? भन्ने प्रश्न गर्दै सामान्य अभिमुखिकरण बाहेक निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई बदलिँदो परिस्थिति अनुकूल कसरी कार्य सम्पादन गर्ने भन्ने विषयमा तालिम तथा क्षमता विकासका कार्यक्रमको अभाव रहेको बताए । साथै नेपालले स्थानीय सरकार कसले निर्णय गर्छ, कसलाई लाभ प्राप्त हुन्छ, खर्च कसले व्यहोर्छ ? भन्ने लगायतका स्वार्थगत विषयमै अल्झिएको जानकारी दिए ।

नेपाल सरकारका पूर्वसहसचिव बसन्तराज गौतमले स्थानीय सरकारले जनचाहना अनुरुप जिम्मेवारी पूरा गर्न नसकेको बताए । पहिलो वर्ष नयाँ छौं, सिक्दैछौं, दोश्रो वर्ष, क्यै पद्धति नै रहेनछ, तेश्रो वर्ष, सहयोग नै भएन, चौथौ वर्ष, हामी लागि परेका छौं, पाँचौ वर्ष, अर्को वर्ष त चुनाव नै भइ गो नि भन्नेजस्ता गैह्रजिम्मेवारीपूर्ण आरोप प्रत्यारोपमा स्थानीय सरकार लाग्न नहुने बताए ।

गोष्ठीको औचित्यमाथि प्रकाश पार्दै विकास पत्रकार मञ्च नेपालका अध्यक्ष गोपीकृष्ण ढुंगानाले भौतिक पूर्वाधार लगायतका विकासका गतिविधिहरुमा समाचार संकलन गर्दै आइरहेका पत्रकारहरुको अन्तरसम्बन्ध विकास गरी पेशागत दक्षता वृद्धि गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिलाई नागरिक सामु सूचनाका रुपमा निष्पक्ष ढंगले सम्प्रेषण गर्ने उद्देश्यले स्थापित विकास पत्रकार मञ्च नेपाल स्थापना कालदेखि नै यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको जानकारी दिए । साथै ढुंगानाले यस कार्यशालाबाट महत्वपूर्ण निष्कर्ष निस्कने विश्वास समेत व्यक्त गरे ।

गाउँपालिका महासंघका निर्देशक विमल पोख्रेलले प्रायः स्थानीय सरकार पछिल्ला दिनहरुमा विकास निर्माण लगायतका विषयमा कार्यतालिका नै बनाएर कार्यक्षेत्रमा लागेकोले अपेक्षाकृत परिणाम प्राप्त हुने बताए ।

नेपाल नगरपालिका महासंघका निर्देशक कलानिधि देवकोटाले सहकारी बाहेक अन्य कुनै पनि सरकारी कार्यालय आजसम्म पनि स्थानीय सरकारको अधिनमा नआएकोमा आश्चर्य प्रकट गरे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले जनप्रतिनिधि र कर्मचारीबीचको द्वन्द्व आज पनि विद्यमान रहेको भन्दै चेकमा सही गर्न पाइन्छ कि पाइन्न भन्नेजस्ता अत्यन्त झिना मसिना विषयमा उनीहरु अल्झिनुु नहुने बताए । साथै तामाङले प्रधानमन्त्री रोजगार कार्यक्रमको नक्कल गर्दै अध्यक्ष रोजगार कार्यक्रम, वडा अध्यक्ष रोजगार कार्यक्रमजस्ता नक्कले कार्यक्रमको नक्कल गर्न नहुने भन्दै स्थानीय समस्या र जनचाहना अनुरुपका कार्यक्रम ल्याउनु उचित हुने सुझाव दिए ।