सुमो दुर्घटनामा ११ जना घाइते, दुई जनाको अवस्था गम्भीर

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

रामेछाप, १६ असार, जिल्लाको खाडादेवी गाउँपालिका– ४ पकरबासमा सोमबार अपरान्ह भएको सुमो दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको छ ।

जिल्ला सदरमुकाम मन्थलीबाट दोरम्बातर्फ जाँदै गरेको खाँडादेवी यातायात सेवा समितिको वा १ ज ६४४१ नम्बरको टाटा सुमो खाँडादेवी गाउँपालिका ४ को भिमसेन स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनाका घाइतेमध्ये मन्थली नगरपालिका ५ का सिताराम आचार्य र दोरम्बा गाउँपालिका टोकरपुरकी पदमकुमारी थापामगरको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा टोकरपुरका श्याम पहरी, मिन बहादुर पहरी, पवित्रादेवी थापामगर, खाडाँदेवी गाउँपालिका भीरपानीका ध्यान बहादुर तमाङ, पकरबासकी रमा तमाङ, खाडादेवीका सुमो चालक गोपी रायमाझी, मझुवाका अनिषा योन्जन, अनिता घिसिङ लगायतका घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।

सुमो सडकबाट करिब ३० मिटर तल मकैबारीमा खसेको छ । दुर्घटनाको कारण भने पत्ता नलागेको प्रहरीले जनाएको छ ।