प्रदेश एकका मुख्यमन्त्री राई अमेरिका प्रस्थान

प्रदेश मुख्य समाचार राजनीति

विराटनगर, १६ असार, २०७६ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री राई आज साँझ अमेरिका प्रस्थान गरेका हुन् ।

प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीकृत बमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गरेका हुन् । अमेरिकाको उक्त कार्यक्रममा मुख्यमन्त्री राईले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैर आवासीय नेपालीहरुको भूमिकाको विषयमा समेत धारणा राख्ने छन् ।

प्रदेश १ सरकारले भर्खरै नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै मुख्यमन्त्री राईको यो अमेरिका भ्रमणलाई निकै अर्थपूर्ण हिसाबले हेरिएको छ । नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ । उक्त लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गर्ने छन् । यसअघि यो कार्यक्रममा भाग लिन नेपालका विशिष्ट व्यक्तित्वहरु सहभागी भइसकेका छन् ।

सम्मेलनको आयोजना अमेरिकामा रहेका नेपाली चार संस्था एसोशियसन अफ नेपालीज इन दि अमेरिका, एसोशियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्र्तराष्ट्रिय साहित्य समाज र बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन् ।

तस्विर: फायल