भरतपुर १९ को मतपत्र च्यात्नेलाई एक/एक लाख जरिवाना

प्रदेश मुख्य समाचार राजनीति

चितवन, १६ असार, २०७६ । स्थानीय तहको निर्वाचनको समयमा भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यात्ने दुबै जनालाई एक/एक लाख रुपैयाँ जरिवाना गरिएको छ । चितवन जिल्ला अदालतले जेठ ३० गते मुद्दाका दुई आरोपीलाई दोषी ठहर गरेको थियो । सजाय निर्धारणका लागि सोमबारको पेशीमा तत्कालिन माओवादी केन्द्रका कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेलाई जनही एक/एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठको एकल इजलाशले मुद्दामा कसुर ठहर हुने आदेश दिएको थियो । सजाय निर्धारणको फैसला पनि श्रेष्ठले गरेका हुन् । ‘निर्वाचनसम्बन्धी कसुरमा गएको जेठको ३० गते कसुर ठहर भएको थियो’ गिरीले भने, ‘सजायँ निर्धारण हुँदा दुबैलाई जनही एक लाख रुपैयाँ जरिवाना भएको छ ।’ मुद्दामा कसुर ठहर हुने आदेश भएपछि सजाय निर्धारण गर्नका लागि यसअघि असार ५ गतेलाई तोकिएको पेशी स्थगित भएको थियो ।

महानगरपालिकाको वडा नम्बर १९ को मत गणना हुँदै गर्दा २०७४ सालको जेठ १५ गते मध्यरातमा मतपत्रहरु च्यातिएका थिए । घटनास्थलबाटै प्रहरीले शिवाकोटी र न्यौपानेलाई पक्राउ गरेको थियो । घटनाका दोषीलाई कारबाहीको माग गर्दै शिवाकोटी र न्यौपानेविरुद्ध २०७४ सालको जेठ १७ गते अदालतमा मुद्दा दायर गरिएको हो । मुद्दा दर्ता भएपछिको थुनछेक आदेशमा दुबै जना आरोपीलाई एक–एक लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको थियो ।

मुद्दामा कसुरदारलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा एकको कसुर अनुसार उपदफा २ मा व्यवस्था भएको सजाय माग गरिएको थियो । एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेकामा दोषीलाई जरिवाना सजाय तोकिएको हो ।