धावनमार्ग कालोपत्रेको काम सम्पन्न, दैनिक २१ घन्टा सञ्चालनमा

आजको बजार मुख्य समाचार विषेश समाचार

काठमाडौं, १६ असार । नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल दैनिक २१ घन्टा सञ्चालनमा आएको छ । ३ महिनाअघि सुरु भएको धावनमार्ग निमार्णको काम सम्पन्न भएसँगै असार १५ गतेदेखि विमानस्थल दैनिक २१ घन्टा सञ्चालनमा आएको हो ।

विमानस्थलको धावनमार्ग पुरानो भएसँगै कालोपत्रे परिवर्तनको काम चैत १८ गते सुरु गरिएको थियो । सोही कारण देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सञ्चालन अवधिको १० घन्टा बन्द हुँदै आएको थियो ।

प्रत्येक दिन ९० कामदार परिचालन गरेर चिनियाँ कम्पनीले ३ हजार ५० मिटर लामो धावनमार्ग पूर्ण रुपमा कालोपत्रे गरेको हो । धावनमार्गको कालोपत्रे गर्ने काम जोखिमपूर्ण भए पनि नेपाल वायु सेवा निगमले जोखिम मोलेरै काम सम्पन्न गरेको छ ।

धावनमार्ग कमजोर र पुरानो हुँदा यसअघि वर्षाको समयमा चिरा पर्दै आएको थियो । सोही कारण देखाउँदै युरोपियन युनियनले नेपालको हवाईयात्रालाई कालो सूचीमा समावेश गरेको छ । तर, यसमा युनियनले अन्य कारणहरु पनि देखाएको छ ।

नेपाल सरकारले चिनियाँ कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इञ्जिनियरिङ कर्पोरेसनले ट्याक्सी वेसहित कालोपत्रे गर्न ४ अर्ब २७ करोड रुपैयाँमा ठेक्का लिएको थियो ।