विश्वकप क्रिकेटमा भारतको पहिलो हार

खेलकुद मुख्य समाचार विश्व

एजेन्सी, १६ असार । इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले पहिलो हार ब्याहोरेको छ । आफ्नो छैटौं खेलमा भारत घरेलु टोली इंग्ल्याण्डसँग ३१ रनले पराजित भएको हो ।

टस जितेर सुरुवाती ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ३३७ रन बनाउँदा ७ विकेटको क्षती ब्यहोरेको थियो । इंग्ल्याण्डको उच्च स्कोर बनाउन जोनी बेयरस्टोले सार्बधिक १११ रन, बेन स्टोक्सले ७९ ।न, जो रुटले ४४ रन बनाए । बलिङतर्फ भारतका मोहम्मद शमीले सार्बधिक ५ विकेट लिए ।

मैदानमा जवाफी ब्याटिङमा आएको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३०६ रन मात्र बनायो । लक्ष्य पछ्याउने क्रममा भारतका रोहीत शर्माले १०२ रन, कप्तान विराट कोहलीले ६६, हार्दिक पाण्ड्याले ४५, महेन्द्रसिंह धोनीले ४२ रन बनाए । यस्तै भारतका ऋषभ पन्तले ३२ रन बनाउन सफल भए ।

यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ ।