निसासिएर चार जनाको ज्यान गयो !

मुख्य समाचार समाज

विराटनगर, १५ असार, २०७६ । मोरङको सुनवर्षी —९ स्थित मस्जिदको शौचालयको निर्माणाधीन सेफ्टी ट्यांकीमा निसासिएर चार जनाको मृत्यु भएको छ । निर्माणाधिन सेफ्टी ट्यांकीको सेटिङ खोल्न गएका चार जनाको निशासिएर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता धनश्याम श्रेष्ठका अनुसार निशासिएर मृत्यु हुनेहरूमा सुनवर्षी —९ का ४५ वर्षीय मो कपिल आलम, २५ वर्षका सहनवाद आलम, २२ वर्षका मो वसिव आलम र २० वर्षका मो फिरोज आलम छन् ।

निर्माणाधीन सेफ्टी ट्यांकी धेरै दिनदेखि बन्द रहेका कारण सेफ्टी ट्यांकीको ढलान गरेको सेटिङ खोल्न गएकाहरूको अक्सिजनको कमीले मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । सेफ्टी ट्यांकी भित्र छिरेकाहरू धमाधम बेहोस भएपछि उनीहरूको उद्धार गरी रंगेली अस्पताल पु¥याइएको थियो । रंगेली अस्पतालले रिफर गरेपछि उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याउँदै गर्दा ४ जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।